सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन: महामन्त्री शर्मा
काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।
सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ ।
महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे ।
उनले व्यक्तिको फोन संवाद सुन्नु र रेकर्ड गर्नु व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए ।
नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने नाममा वद्नियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ ।
नेपालमा कानुनको दुरुपयोग र अपव्याख्या धेरै हुने हुँदा यस्ता कानुनहरू सत्ता र शक्तिमा बस्नेहरूले आफूअनुकुल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री थापाले बताए ।
महामन्त्री शर्माले सरकारले जनतालाई स्पष्टरूपमा भनेर मात्र यस्ता कानुनहरू निर्माण गर्नुपर्नेमा जोड दिए ।
सरकारले मस्यौदा गरेको यो विधेयकले नेपालको संविधानको धारा १८ ले दिएको गोपनीयताको हक नै हनन् गर्ने भन्दै चौतर्फी विरोध भइरहेको छ । न्युज एजेन्सी नेपाल