ज्ञानेन्द्र शाह असली राजा होइनन्ः प्रधानमन्त्री ओली

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाउनुभएको छ । आईतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रुपमा ल्याइएको बताउनु भयो । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उहाँको टिप्पणी छ । २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत जानुभएको भन्दै त्यही बेला अग्रजहरुले राजा बाहेक अरुमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गर्नुभयो । त्यही त्रुटीले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाई चाहीँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ । एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो । दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भएपनि हुन्थ्यो होला । खैर त्यो अग्रजहरुको कुरा हो । त्रुटी भयो । जसले गर्दा भोगेको भोग्यै गर्नुपर्‍यो, ०६५ सालसम्म ।’ प्रधानमन्त्री ओलीले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गते भएको बताउनु भयो । -न्युज एजेन्सी नेपाल