आश्रित मानवलाई कोदो उपहार दिएर मनाइयो ‘कोदो दिवस’
कर्णाली/सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित मानवसेवा आश्रमलाई कोदो उपहार दिएर ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाइएको छ ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज यहाँ कार्यक्रम आयोजना गरी त्यहाँ आश्रित ९५ जनाका लागि कोदो, कागुनोसहितका खाद्य उपहार दिएको हो ।
दिवसका अवसरमा मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतले दिवसले नेपालमा धान, गहुँ, मकैपछि चौथो महत्त्वपूर्ण खाद्य बालीका रुपमा रहेको कोदोजन्य बालीले आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । उहाँले खाद्यान्न बालीको सात दशमलव नौ प्रतिशत, उत्पादनको तीन दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमशः तीन, ७८ र १० प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको बताउनुभयो ।
सचिव रावतले कर्णालीका हुम्ला र मुगु जिल्लामा कोदो प्रथम र जुम्लामा दोस्रो खाद्य बालीका रूपमा रहेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा खाद्य सुरक्षाका दृष्टिकोणले २८ हजार ३६५ मेट्रिकटन खाद्यान्न बचत रहेको भए पनि डोल्पा, मुगु, हुम्ला र कालीकोटमा २२ हजार ६७३ मेट्रिकटन खाद्यान्न अपुग देखिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सङ्गीता गौतमले प्रदेश सरकारले दिवसलाई मानव सेवासँग जोडेर कार्यक्रम गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । “कोदो, कागुनो र चिनो सबै यहाँका अर्ग्यानिक अनाज हुन् । यसले आश्रित मानवहरूको पौष्टिक आहारमा सहयोग पुग्ने आशा गरेको छु”, उहाँले भन्नुभयो । रासस