साँढे ६ क्वीन्टल बढी गाँजासहित चितवन प्रहरीद्वारा एक जना पक्राउ
चितवन/साउन १०/चितवनमा प्रहरीले साँढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१ नम्बरको कन्टेनर ट्रक चेकजाँच गर्दा ६७१ किलो ६ सय ग्रामको ४३ वटा पोका गाँजा बरामद गरिएको भरतपुरमा आयोजित संक्षिप्त पत्रकार भेटघाटको क्रममा प्रहरी प्रमुख पुरीले जानकारी दिएका हुन् । प्रहरीले कन्टेनर चालक भारत बिहार राज्य पूर्वी चम्पारणको तुर्कालिया बस्ने वर्ष ३७ का शेख सविल अख्तरलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट सामान पुर्याएर खाली फर्किएको कन्टेनरमा चितवनको राप्तीबाट गाँजा लोड गरेर वीरगञ्ज हुँदै भारत लैजादै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
उक्त गाजा कन्टेनरको ड्राइभर क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाइ प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो । यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।