चितवनमा मनाइयो पुष्पलाल स्मृति दिवस
चितवन/आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस । पुष्पलाल स्मृति प्रतिष्ठान चितवन शाखाले आज एक कार्यक्रम गरी दिवस मनाएको छ ।
नारायणगढस्थित नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा वामपन्थी निकट दलहरुको उपस्थिति रह्यो ।
कार्यक्रममा नेकपा एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा एस चितवनका अध्यक्ष नरेन्द्र कन्दङ्वा, नेकपा मालेकी भगवती घिमिरे लगायत ती पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण गरेर श्रद्धा व्यक्त गरेका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् । आज पनि देशभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइएको छ ।
पुष्पलालको नेतृत्वमा २००६ बैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।
वि.सं. १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।