नारायणगढको पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान गर्दै भरतपुर महानगर

नारायणगढ,(चितवन)/भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । महानगर यातायात शाखाका प्रमुख बालकृष्ण थपलियाले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान, अध्ययन तथा अवलोकन गरिएको जानकारी दिनुभयो ।

महानगरको साना तथा निजी सवारीसाधन पार्किङ व्यवस्थापन कार्यविधि, २०८१ अनुसार उपप्रमुखको संयोजकत्वमा अनुगमन तथा नियमन समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार काम अगाडि बढाइएको शाखा प्रमुख थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढको लायन्सचोकस्थित प्रस्तावित बहुउद्देश्यीय भवनको खाली जग्गा तथा पुलचोकस्थित नारायणी नदी पश्चिम किनारको खाली स्थानलाई तत्कालका लागि पार्किङस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

“महानगरको आर्थिक ऐन २०८२ र कार्यविधि २०८१ अनुसार पार्किङ शुल्क असुली गरी व्यवसाय सञ्चालन गर्न इच्छुक सङ्घ÷संस्थाबाट निवेदन माग गर्न सूचना प्रकाशित गरिनेछ । गतवर्ष पेस गरिएका प्रस्तावका निवेदकहरूसँग संवाद प्रक्रिया अघि बढाइएको छ”, शाखा प्रमुख थपलियाले बताउनुभयो ।

कार्यविधिको दफा २ (ग) अनुसार सेवा प्रदायक सार्वजनिक सङ्घ÷संस्थाले निःशुल्क पार्किङ सेवा दिन सक्ने व्यवस्था गरिएको छ । त्यसअनुसार सार्वजनिक सूचना प्रकाशन गरी प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । त्यसैगरी कार्यविधि विपरीत शुल्क असुली गर्दै आएकालाई तत्काल रोक लगाइ राजस्व शाखामार्फत पत्राचार गरी नियमित अनुगमन गरिने निर्णय भएको छ ।

महानगरले सम्भाव्य पार्किङ क्षेत्र पहिचान गर्न सरकारी तथा गैरसरकारी निकाय, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर अस्पताल, राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, बालकुमारी मावि आदिसँग समन्वय गर्दै छलफल अगाडि बढाउने निर्णय गरेको उहाँले बताउनुभयो । साथै, महानगरको भवन निर्माण इजाजत तथा नक्सा शाखासँग मिलेर बेसमेन्ट पार्किङ भएको भवनको अभिलेख सङ्कलन गर्ने निर्णय भएको शाखा प्रमुख थपलियाले बताउनुभयो ।

सार्वजनिक सडक तथा फुटपाथमा सवारीसाधन पार्किङ गर्ने प्रवृत्तिले सहर अस्तव्यस्त बनाएको, ट्राफिक जाम बढाएको र पैदलयात्रीलाई असहज बनाएको जनगुनासो आइरहेकाले सार्वजनिक स्थानमा पार्किङलाई निरुत्साहित गर्ने नीति महानगरको रहेको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

बजार क्षेत्रको पार्किङ समस्या समाधान तथा सौन्दर्यीकरणका लागि महानगर गम्भीरतापूर्वक लागेको उहाँको भनाइ छ । व्यवसायी र उपभोक्ताबाट गुनासो आएको उल्लेख गर्दै उहाँले सबै सरोकारवालासँग समन्वय गरी समस्या समाधानका प्रयास भइरहेको जानकारी दिनुभयो । नक्सा पास गरेर बनाइएका भवनको तथ्याङ्क सङ्कलन गरी नियमन गरिनेछ भने लायन्सचोकको पुरानो तरकारी बजार र पुलचोकस्थित नारायणी नदी किनारमा तत्कालका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले नारायणगढमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले अव्यवस्थित पार्किङले व्यवसायी र सेवाग्राही दुवैलाई असहज बनाएको जिकिर गर्दै महानगरसँग समन्वय गरेर व्यवस्थापनका काम अगाडि बढिरहेको जानकारी दिनुभयो । रासस