प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौदेखि

काठमाडौँ/सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतबाट ओलीलाई भ्रमणको निम्तो आइसकेको र भ्रमणको मितिमा पनि सहमति भइसकेको छ ।

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीले भ्रमण निश्चित भएको र मिति पछि घोषणा हुने जानकारी दिए । ‘भारतीय समकक्षीबाट निमन्त्रणा आएपछि तयारी तीव्र रूपमा भइरहेको छ,’ उनले भने, ‘द्विपक्षीय एजेन्डा, मिति र अन्य विषय अहिल्यै भन्न मिल्दैन । मन्त्रालयका तर्फबाट तयारी अन्तिम चरणमा छ ।’

पत्रकार विजयकुमार पाण्डेसँगको हालैको अन्तर्वार्तामा ओलीले आफू ‘छिट्टै’ भारत भ्रमण गर्ने र भारतीय प्रधानमन्त्री मोदी नोभेम्बरमा नेपाल आउने सम्भावना रहेको बताएका थिए । असार २०८१ मा ओली प्रधानमन्त्री बनेदेखि नै दिल्ली भ्रमणका लागि प्रयास हुँदै आएको थियो । तर, भारतीय पक्षबाट सकारात्मक जवाफ नआउँदा भ्रमण तय हुन सकेको थिएन ।

यसबीचमा ओली र मोदीबीच विभिन्न कार्यक्रममा भेट भइसकेको छ । ओलीले न्युयोर्क र बैंककमा मोदीलाई भेटेका थिए । गत वर्ष सेप्टेम्बरमा ओली न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जानुअघि पनि नेपाली पक्षले उनको दिल्ली भ्रमणको प्रयास गरेको थियो ।

७९ औं संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइनमा ओली र मोदीबीच भेटवार्ता भए पनि ओलीको दिल्ली भ्रमणका विषय परिणाममुखी हुन सकेन । नोभेम्बर २०१९ मा भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो भूभागमा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई छिमेकीबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

भारतको उक्त कदमको जवाफमा नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ चुच्चे नक्सा मात्र जारी गरेन, त्यसलाई संविधानमा पनि समेट्दै सोहीअनुसार निसान छापसमेत परिमार्जन गरेको थियो । त्यतिबेला ओली नै प्रधानमन्त्री थिए ।

त्यसयता ओली र दिल्लीबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार गत वर्ष मंसिरमा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भए पछि दिल्ली थप चिढिएको थियो । तर, ओलीले भारतसँगको सम्बन्ध सुधारको प्रयासलाई भने जारी नै राखे ।

गत चैतमा बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलनको साइडलाइनमा ओली र मोदीबीच भेट भएको थियो । उक्त भेटलाई नेपाली पक्षले न्युयोर्कमा भएको भेटभन्दा निकै सौहार्दपूर्ण रहेको दाबी गरेको थियो । उक्त भेटले पनि दिल्लीको ओलीप्रतिको आशंका र अविश्वास पूर्ण रूपमा भने हटाउन नसकेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीको भनाइ छ । ‘तर हामीले विभिन्न माध्यमबाट भारतीय पक्षसँग सम्पर्क स्थापित गरिरह्यौं र अन्ततः भ्रमण निश्चित भएको छ,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार भारतले ओलीलाई दुईदिने भ्रमणको निम्तो दिएको छ । जसअनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ३१ भदौमा दिल्ली जानेछन् । भोलिपल्ट मोदीसँग द्विपक्षीय वार्ता हुने र केही सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । संयोगले १ असोज (१७ सेप्टेम्बर) मोदीको जन्मदिनसमेत परेकाले भ्रमणबाट सकारात्मक नतिजा हासिल हुनेमा सरकारी अधिकारीहरू आशावादी छन् ।

भ्रमणअघि नेपाल र भारतबीच द्विपक्षीय संयन्त्रका केही महत्त्वपूर्ण बैठकहरू हुँदै छन् । मंगलबारदेखि नयाँदिल्लीमा गृह सचिवस्तरीय बैठक हुँदै छ । बैठकमा सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता लगायतका प्रमुख मुद्दाहरू छलफल हुनेछन् ।