Breaking News

रसुवा हुँदै ठुलो बाढी नेपाल भित्रीयो, चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल बगायो।

रसुवा/चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा अवस्थित नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। राति करिब ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण पुलमा गम्भीर क्षति पुगेको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मितेरी पुल बगाएको प्रारम्भिक जानकारी आएको छ। “पुलमा सामान्य क्षति मात्र भएको हो कि पूर्ण रूपमा बगाएको भन्नेबारे अझै यकिन भइसकेको छैन,” उनले भने।

बाढीले रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ रहेका धेरै गाडी, मालवस्तु तथा ढुवानी साधनहरू बगाएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिएका छन्। “कर्मचारीहरू भने सुरक्षित छन्,” उनले बताए, “तर आइसिपी (इन्टिग्रेटेड चेक पोस्ट) का अधिकांश संरचना बगाएका छन्। क्षतिको यकिन विवरण आउन बाँकी छ।”

बाढीका कारण गाडीहरू निकाल्ने प्रयासमा केही मानिसहरू हताहत भएको प्रारम्भिक जानकारी आएको छ। मानवीय क्षतिका विस्तृत विवरण भने आउन बाँकी रहेको सहायक सिडिओ अधिकारीले जनाए।

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजना समेत प्रभावित बनाएको छ। यसैबीच, तिमुरे भन्सार क्षेत्रमा नदी दुईतिरबाट बग्दा केही मानिसहरू बीचमै फसेको जानकारी प्राप्त भएको छ।

प्रशासनले मैलुङ, बेत्रावतीजस्ता जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। साथै, गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरेर उद्धारका लागि हेलिकप्टर स्ट्यान्डबाइमा राखिएको छ, तर खराब मौसमका कारण हालसम्म उडान हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीका थप असरबारे अपडेटहरू आइरहेका छन्।