Breaking News

इरानी अधिकारीहरुले भने– युद्धविराम पूर्णतया झुट

काठमाडौं/इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको भने पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ । उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’

बीबीसीका अनुसार उनले केही घन्टाभित्रै इरानले इजरायललाई ‘सैन्य प्रतिक्रिया’ मार्फत ट्रम्पको घोषणा झुट भएको प्रमाणित गर्ने बताएका छन् ।

स्रोतका अनुसार, अमेरिकाको यो घोषणा दोहामा रहेको आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको ‘अपमानजनक पराजय’ बाट ध्यान हटाउने प्रयास मात्र हो ।

यद्यपि, हालसम्म इरानी अधिकारीहरूले ट्रम्पको उक्त घोषणा न त औपचारिक रूपमा खण्डन गरेका छन्, न त पुष्टि नै गरेका छन् ।

ट्रम्पले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत इरान र इजरायल दुवै पक्ष ‘पूर्ण रूपमा युद्धविराममा सहमत’ भएका बताएका थिए । उनले उक्त युद्धविराम करिब १२ घण्टापछि लागु हुने जिकिर गरेका थिए ।

‘युद्धविरामको कुरा गरेर ट्रम्पले झुट बोले’

तर तेहरान टाइम्सले इरानी पक्षले यसलाई ‘ट्रम्पले इरानी सरकारलाई युद्धविराम स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले नयाँ झुट बोलेको विश्लेषण गरेको’ उल्लेख गरेको छ ।

यस्तो प्रस्तावले इरानी जनतालाई आफ्नै अधिकारीविरुद्ध उकास्न सक्ने र देशभित्र असन्तोष सिर्जना हुन सक्ने आकलन पनि गरिएको छ ।

इरानी संसदका सभामुखका सल्लाहकार महदी मोहम्मदीले पनि एक्समार्फत् अमेरिकाले झुट बोलेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अमेरिका र इजरायल झुट बोलिरहेका छन् । उनीहरू इरानले सतर्कता घटाओस् ताकि तनाव अझै बढाउन सकियोस् भन्ने चाहन्छन् ।’

इजरायलले जुन १३ तारिखमा इरानमाथि आक्रमण गरेपछि द्वन्द्व चर्किएको थियो । यहीबीचमा अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि मध्यपूर्व अशान्त छ । एजेन्सी