च्याटजीपीटीको जमानामा विश्वविद्यालयको सान्दर्भिकता छ कि छैन ?
आजभोलि धेरैजसो विद्यार्थीका लागि क्याम्पस एकदम सजिलो हुँदै गएको छ । कुनै समय मसिनो अनुसन्धानमार्फत् मात्रै गर्न सकिने काम अहिले क्षणभरमै गर्न सकिन्छ । संसारका हरेक विषयका लागि खोजेजस्तै आकर्षक लेख तथा निबन्ध उपलब्ध छन् ।
लामा र दुरुहजस्ता लाग्ने चार्ल्स डिकेन्स वा प्राचीन ग्रीसका डेमोस्थेनिसलाई मसिनोगरी पर्गेल्नु पर्दैन । सबै आवश्यक तथा सान्दर्भिक सामग्री तुरुन्तै केवल एउटा ‘च्याटबोट प्रोम्प्ट’ बाट पाउन सकिन्छ । त्यसलाई सजिलै आफ्नो अनुकूल तोडमरोड वा संक्षेपीकरण गर्न सकिन्छ ।
शिक्षा क्षेत्र कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको युगमा हेलिइसकेको छ । हालै प्रकाशित भएका धेरै अनुसन्धान प्रतिवेदन अनुसार विद्यार्थीहरूले आफ्नो गृहकार्य एआईलाई गराउनु अब सामान्य र नियमित काम भएको छ । अनौठो त के छ भने एआईको प्रयोग नगरेर आफैँ कडा परिश्रम गर्ने विद्यार्थीहरू प्रायः एआईको प्रयोग गर्ने आफ्ना साथीहरूको तुलनामा कमजोरजस्ता देखिएका छन् ।
प्राध्यापकहरूले कम्प्युटरको प्रयोग मार्फत सिर्जना गरिएका लेखाइलाई वास्तविक लेखाइबाट छुट्ट्याउन लगभग असम्भव हुन थालेको छ । अझ अनौठो कुरा त आफ्ना विद्यार्थीहरूको कामको मूल्याङ्कन गर्न शिक्षक पनि एआईको प्रयोग गर्न थालेका छन् ।
अवस्था कतिसम्म खराब देखिँदैछ भने कम्प्युटरहरू कम्प्युटरले नै लेखेका उत्तर पुस्तिका वा लेख/रचना जाँच गरिरहेका छन् । विद्यार्थी र प्राध्यापकहरू निष्क्रिय अवलोकनकर्ता जस्ता देखिन्छन् । तर, अभिभावकहरू भने शिक्षाका लागि भनेरै हजारौँ डलर खर्च गरिरहेका छन् । यसअघि नै विश्वविद्यालयहरूले विभिन्न खाले चुनौती भोगिरहेका वेला यसले अझ गम्भीर सङ्कटमा परिणत गर्न सक्ने देखिएको छ ।
आगामी दिनमा स्नातक पार गरेकाहरू एआईको प्रयोगमा दक्ष होउन् भन्ने अपेक्षा रोजगारदाताले गर्नेछन् । एआईले आउने दिनमा उत्पादकत्व बढाउनेमात्रै नभएर नयाँ विचार विकास गर्न पनि सहयोग गर्न सक्छ ।
अब एआईलाई पाठ्यक्रममा समावेश गर्नुको कुनै विकल्प छैन । यसो गर्नु धेरै हिसाबले अर्थपूर्ण हुन्छ । यसरी समावेश गर्दा त्यसले शिक्षामा सुधार गर्न सक्छ भन्ने देखाउने केही प्रमाण पनि देखा परेका छन् । एआईले यस अघि नै विभिन्न क्षेत्रको रोजगारीको स्वरुपमा परिवर्तन ल्याइसकेको छ ।
आगामी दिनमा स्नातक पार गरेकाहरू एआईको प्रयोगमा दक्ष होउन् भन्ने अपेक्षा रोजगारदाताहरूले गर्नेछन् । एआईले आउने दिनमा उत्पादकत्व बढाउनेमात्रै नभएर नयाँ विचार विकास गर्न पनि सहयोग गर्न सक्छ ।
क्याम्पसमा पढ्ने हरेक कुरा व्यावसायिक वा रोजगारीसँग मात्रै जोडिएको हुँदैन । मानविकीजस्ता सङ्कायका अध्ययनहरू अझै उच्च लक्ष्य केन्द्रित हुन्छन् । यस्ता विषय आलोचनात्मक चिन्तनलाई प्रोत्साहन गर्न, असल बानी बसाल्न, बौद्धिक क्षितिज फराकिलो पार्न तथा विद्यार्थीहरूलाई म्याथ्यू अर्नोल्डले भनेजस्तै ‘विभिन्न समयमा सोचिएका र भनिएका उत्तम कुरा’ सँग परिचित गराउन खोज्छन् ।
यसरी गम्भीर अध्ययन गर्न तथा एरिस्टोटल, थोमस एक्विनास वा आडम स्मिथ जस्ता सर्वकालिक चिन्तकका विचारमा आफू निपुण हुन जम्मा एक वाक्यको आकारको ‘एआई प्रोम्प्ट’ ले काम गर्दैन । त्यसका लागि अलि गहन मेहनत चाहिन्छ । त्यस्तो मेहनतले राम्रो नतिजा पनि दिन्छ ।
यो कुरा निश्चित विषयमा गहिरो चासो हुनेहरूको हकमा मात्रै लागु हुँदैन । धेरै काम छन् जसमा मानिसको क्षमतामा निखार ल्याएरमात्रै राम्रोसँग गर्न वा गराउन सकिन्छ । जस्तैः आपसमा विरोधी दृष्टिकोणहरूको संश्लेषण गरेर त्यसबारे विवेकशील निर्णय गर्न, साहित्यिक रचनाको मूल्याङ्कन गर्दै त्यसबारे आलोचनात्मक टिप्पणी गर्न, आधुनिक मूल्य मान्यताहरूको दार्शनिक आधार बुझ्न त्यति सजिलो छैन ।
विद्यालयले एआईलाई ध्यानमा राखेर मौखिक परीक्षाजस्ता मूल्याङ्कनका अन्य रचनात्मक तथा कठोर विधि प्रयोग गर्नुपर्छ । यसो गर्दा शिक्षकहरूले पहिले भन्दा धेरै मेहनत गर्नुपर्ने हुन्छ ।
यस्ता सिपले व्यक्तिलाई जागिरका लागि योग्यमात्रै बनाउँदैन, उसको चरित्रको स्वरुप पनि निर्धारण गर्छ । उन्नत दृष्टिकोण प्रदान गर्छ । साथै उनीहरू सभ्य नागरिक बन्छन् । नागरिक शास्त्र तथा इतिहासको ज्ञान जति धेरै भयो त्यति उपयोगी हुन्छ ।
यसका लागि विद्यालय तथा विश्वविद्यालयले गर्नुपर्ने केही काम छन् । सबैभन्दा पहिले विद्यालयहरू यो विषयमा गम्भीर हुनैपर्छ । धेरै विद्यालय एआईको प्रभावबारे अन्योलमा छन् । धेरैले त यो समस्या बिस्तारै आफैँ हटेर जाने आशा गरिरहेका देखिन्छन् । विद्यालयहरूले अब एआईको प्रयोग कुन हदसम्म ठिक छ, शिक्षकहरूको मार्गनिर्देशनमा सिकाइको उद्देश्यका लागि कतिसम्म प्रयोग गर्न सकिन्छ तथा विद्यार्थीहरूले यसको दुरुपयोग गरेमा के हुनेछ भन्ने कुरा स्पष्ट भन्नुपर्छ ।
यसका प्रशस्त उदाहरण छन् । उदाहरणका लागि एआईको प्रयोगलाई लिएर तयार गरिएका प्राज्ञिक आचारसंहिताले छलछाम कम गर्न सघाएको देखाएको छ । खास गरी जब स्कूलहरूले त्यस्ता आचारसंहिताको उल्लङ्घनलाई गम्भीरतापूर्वक लिन्छन्, त्यसबेला विद्यार्थीहरूलाई के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर ठ्याक्कै थाहा हुन्छ । साथै उल्लङ्घन भएको हकमा पनि उचित रूपमा दण्डित गर्न सजिलो हुन्छ ।
अर्को महत्त्वपूर्ण कदम भनेको विद्यार्थीको मूल्याङ्कनको काम कक्षाकोठामै गर्न बढी जोड दिनु हो । विद्यार्थीहरूलाई कलम र कापी लिएर आफैँ लेखेर परीक्षा दिन लगाउनुपर्छ । साथै शैक्षिक सत्रको अवधिभर राम्रोसँग बुझेर अध्ययन गर्न पनि प्रोत्साहन गर्नुपर्छ । यसो गर्दा छलछाम रोकिने मात्र नभएर विषयवस्तुमा निपुणता पनि हासिल हुन्छ ।
यसका लागि विद्यालय तथा विश्वविद्यालयले गर्नुपर्ने केही काम छन् । सबैभन्दा पहिले विद्यालयहरू यो विषयमा गम्भीर हुनैपर्छ । धेरै विद्यालय एआईको प्रभावबारे अन्योलमा छन् ।
विद्यालयले एआईलाई ध्यानमा राखेर मौखिक परीक्षाजस्ता मूल्याङ्कनका अन्य रचनात्मक तथा कठोर विधि प्रयोग गर्नुपर्छ । यसो गर्दा शिक्षकहरूले पहिलेभन्दा धेरै मेहनत गर्नुपर्ने हुन्छ । यसलाई उनीहरूले आफ्नो स्वार्थकै रूपमा हेर्नुपर्ने हुन्छ ।
दीर्घकालमा प्रविधि आफैँले पनि समाधान दिन सक्छ । ‘ब्लुमबर्ग बिजनेस विक’ ले गत वर्ष गरेको खोजले हाल कायम रहेका एआईजन्य रचना पहिचानका उपकरणहरू प्रभावकारी नरहेको देखाएको थियो । साथै हाल उपलब्ध त्यस्ता उपकरणहरू सहजै छल्न सकिने पाइएको थियो । तर विद्यालयहरूले यसको प्रयोग गर्दै जाँदा विस्तारै प्रविधिमा सुधार पनि हुँदै जान्छ । साथै विद्यार्थीहरूले छलछाम गर्ने क्रम घट्दै जान्छ ।
अहिले नै धेरै विद्यार्थीहरू आफूले काम गर्दाको बखतको ‘स्क्रिन रेकर्डिङ’ गर्ने लगायत विभिन्न रचनात्मक तरिकाको माध्यमबाट आफ्नो कामको मौलिकता देखाउन थालेका छन् । एआई नियन्त्रणलाई बाध्यकारी बनाएको खन्डमा यस्ता तरिकाहरू अझै उन्नत र प्रभावकारी बन्दै जान्छन् ।
क्याम्पसका विद्यार्थीहरू सधैँ केही न केही छल्न खोजिरहेकै हुन्छन् । कुनै न कुनै रूपमा भविष्यमा पनि यो अभ्यास कायम नै रहनेछ । मुख्य कुरा भनेको हामी त्यसरी छलछाम गर्न कति अप्ठ्यारो बनाइदिन्छौँ वा त्यसो गर्दा भोग्नुपर्ने परिणाम कस्ता बनाउँछौँ भन्ने हो । त्यस्तै कदमले अब एआईको नवीन तथा अद्भुत युगका मान्यताहरू तय गर्नेछन् र विश्वविद्यालयको भविष्यसमेत यही कुरामा भर पर्नेछ ।एजेन्सी