आयातभन्दा निर्यात कम, तेलमा झनै घाटा

काठमाडौं/चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा खानेतेलमा निर्यातभन्दा बढी आयात पाइएको छ । गत वर्षको तुलनामा १ खर्बभन्दा बढी निर्यात भएको तथ्यांक सार्वजनिक भइरहँदा खानेतेल निर्यातभन्दा कच्चापदार्थ आयातको तथ्यांक बढी देखिएको हो ।

चालू आवमा कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ । आयातको तुलनामा निर्यात थोरै मात्र भएकाले नेपालको निर्यात व्यापार अस्वाभाविकसमेत देखिएको छ । ११ महिनामा १ खर्ब ७ अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भएको देखिएको छ ।

भटमासको तेल, माछाको तेल, जैतुनको तेललगायतका गरेर कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ । यो हिसाबले ६ अर्ब रुपैयााको खाने तेलमा व्यापार घाटा देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको निर्यात व्यापार भएको थियो ।

चालू आर्थिक वर्षमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको कुल निर्यात भएको छ । निर्यातमा प्रगति भएको देखिएको भए पनि वास्तविकता भने कहालीलाग्दो देखिएको छ । खानेतेलको कच्चा पदार्थको आयातको हिस्सा अधिक भएकाले र निर्यातभन्दा अधिक आयात बढी भएकाले नेपालको व्यापार स्थिति मजबुत नदेखिएको हो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा भटमास मात्रै ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँको आयात भएको छ । भटमासलाई प्रशोधन गरेर कुल ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँको तेल निर्यात भएको छ । यसमा मात्रै व्यापार घाटा २ खर्ब २० करोड रुपैयाँको रहेको छ ।

यसैगरी, सनफ्लावर तेलको कच्चा पदार्थ मात्रै २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँको आयात भएको छ । सोही सनफ्लावर संशोधन गरेर ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ । यसमा पनि साढे १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

पछिल्लो समय खानेतेलको आयात र निर्यात अस्वाभाविक रूपमा बढेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्षमा खानेतेलमध्ये भटमास, पाम, जैतुन, तोरी, सनफ्लावर, नरिवल माछाको तेल, मकै, आलुसमेतको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष २०८१–८२ को जेठसम्ममा अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, अमेरिका, थाइल्यान्डलगायत मुलुकबाट कच्चा तेल आयात भएको छ ।

११ महिनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा ठूलो परिमाणमा भटमासको कच्चा तेल आयात भएको छ । सो अवधिमा ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको कच्चा तेल आयात भएको हो । यसैगरी दोस्रो ठूलो परिमाणमा २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँबराबरको सनफ्लावर तेल आयात भएको छ ।

यसैगरी तेस्रोमा ५ अर्ब ४८ करोड ७९ लाख १८ हजार रुपैयाँको पाम तेल आयात भएको छ । यसमा रिफाइन गरिएका अन्य पाम तेलसमेत जोड्ने हो भने कुल १० अर्ब ७९ करोड ५७ लाख ८४ हजार रुपैयाँको पाम तेल आयात भएको छ । भटमासको तेल, माछाको तेल, जैतुनको तेललगायतका गरेर कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजारको खानेतेल आयात भएको देखिएको छ ।

आयातको तुलनामा निर्यात थोरै मात्र भएकाले नेपालको निर्यात व्यापार अस्वाभाविकसमेत देखिएको छ । ११ महिनामा १ खर्ब ७ अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भएको देखिएको छ । बाहिरी मुलुकबाट ठूलो परिमाणमा तेल आयात भएर सानो परिमाणमा मात्रै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । पछिल्लो पटक नेपालबाट भारतमा भटमास तेल निर्यात ह्वात्तै बढेको छ ।

विदेशबाट कच्चा भटमास तेल ल्याएर यहाँ प्रशोधन (रिफाइन) गरी प्रशोधित भटमास तेल ठूलो परिमाणमा निर्यात भएको हो । छिमेकी भारतमा भटमास तेलको माग उच्च भएका कारण यताबाट निर्यात ह्वात्तै बढेको देखिएको हो । नेपालबाट भारतमा ठूलो परिमाणमा भटमास तेल निर्यात हुँदा भारतका व्यापारिक संघसंस्थाले त्यसलाई रोक्न सरकारसँग माग गरिरहेकाले नेपालको खानेतेलको व्यापार खतरामा पर्ने सम्भावना पनि रहेको छ ।

भारतको करको दरले गर्दा नेपालको आफ्नो उत्पादन नभई अर्धप्रशोधित भटमास तेल आयात गरेर भारत निर्यात हुने गरेको छ । भारतले महसुल, कर बढाइदियो र नन ट्यारिफ ब्यारियर (गैरभन्सार अवरोध) लगाइदियो भने धेरै गाह्रो पर्ने सम्भावना रहेको छ । नेपालमा भटमास उत्पादन हुने विशेषगरी मध्यपहाडी क्षेत्रमा भएपनि सरकारले यसका लागि हालसम्म कुनै पहल गरेको पाइएको छैन ।

नेपालमा खानेतेल उत्पादन गर्ने उद्योगको संख्या ३० पुगिसकेको छ । यी उद्योगले अहिले वार्षिक २५ लाख टन तेल उत्पादन क्षमता राख्छन् । उक्त प्रशोधित तेलमध्ये ५ लाख टन मात्रै नेपाली बजारमा खपत हुन्छ । बाँकी २० लाख टन तेल भारत निर्यात हुने गरेको छ । भारतमा अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा थप २० प्रतिशत बिन्दुले बढाएको थियो । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ ।

नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्सार शुल्क लाग्दैन । साथै नेपाली उद्योगी व्यवसायीले भाततर्फ निर्यात गर्दा अग्रिम भुक्तानी हुने भएकाले व्यवसायीहरूले विभिन्न मुलुकबाट आयात गरी निर्यात गरिरहेका छन् । अहिले अमेरिका, अर्जे न्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयातित कच्चा तेल रिफाइन गरेर निर्यात गरिएको व्यवसायीहरूको भनाइ छ ।

१४ खर्बको व्यापार घाटा
चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा भने व्यापार घाटा १३ खर्ब १४ करोड ४४ लाख रुपैयाँ रहेको थियो । नेपालले चालू आर्थिक वर्ष २०८१–८२ को ११ महिना अर्थात् जेठसम्म १६ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोडबराबरको वस्तु आयात गरेको हो । गत आर्थिक वर्षको यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड बराबरको आयात गरेको थियो ।

नेपालले चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष भने १ खर्ब ३९ अर्ब रुपैयाँबराबरको बस्तु मात्रै निर्यात गरेको थियो । यस अवधिमा नेपालबाट भएको निर्यातको हिस्सा १३ प्रतिशत छ भने आयातको हिस्सा करिब ८७ प्रतिशत रहेको छ । नेपालको व्यापार घाटा १२४ देशसँग रहेको छ भने ३७ देशसँग भने व्यापार नाफा रहेको छ ।