स्कटल्याण्डले जित्यो त्रिदेशीय टी-२० शृंखलाको उपाधि

काठमाडौं/टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।

रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए । स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १/१ विकेट लिए । नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो । भुर्तेल ४ रनमा, भीम सार्की १२ रनमा, आसिफ शेख १४ र आरिफ शेख ५ रनमा आउट भएपछि नेपालले पावरप्लेभित्रै ४ विकेट गुमाउँदा नेपाल ४३-४ को अवस्थामा थियो ।

त्यसपछि दबाबमा आएको नेपाल त्यसबाट पूर्ण रूपमा बाहिर निस्कन सकेन । दिपेन्द्र र रोहितले साझेदारी गरेपनि लामो समयसम्म जान सकेन । त्यसअघि जर्ज मन्सेको आक्रामक अर्धशतकमा स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो । ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।

मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । ३४(१ बाट १३४-२ को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि ११ रनको अन्तरमा ३ विकेट लिएपछि स्कटल्याण्ड १४५-५ को अवस्थामा पुगेको थियो । त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे । नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १(१ विकेट लिए । यस शृंखलामा हालसम्म नेपालले ४ खेलमध्ये २ खेल जित्दा २ मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।