नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित
ग्लास्गो/ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शनमा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ ।
नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर हारेको नेपालले त्यसको बदला लिएको हो । नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्यो ।
अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो । १९ औं ओभरको अन्तिम बलमा आरिफ शेख रिटायर्ट हर्ट भए । उनको स्थानमा आएका लोकेश बमले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । ज्याच लायनको पहिलो बलमा छक्का हानेका लोकेशले दुई बल डट खेले र चौथो बलमा फेरि छक्का प्रहार गरे ।
आरिफले आक्रामक इनिङ्स खेल्ने क्रममा २३ बलमा ३९ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यसअघि १६ औं ओभरमा आउट भएका कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाएका थिए ।
ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ट्वान्टी–२० आईमा डेब्यु गरेका भीम सार्कीले २७ रन जोडे । उनले १६ बलमा दुई चौका र एक छक्का हान्दै डेब्युलाई स्मरणीय बनाए । ओपनर आरिफ शेख ७, कप्तान रोहित पौडेल ६ रनमा गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाए ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले ओपनर माइकल लेभिटको सानदार अर्धशतकमा १ सय ७४ रन बनाएको थियो । ७ विकेट गुमाएको डच टोलीका लागि लेभिटले ८६ रन बनाए । करण केसीको बलमा कप्तान रोहितबाट छैटौं विकेटका रूपमा क्याचआउट हुनुअघि लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
४५ रनमै ४ विकेट गुमाएको नेदरल्यान्ड्सका लागि रोइलोफ भान डेर मर्बीले अविजित ३६ रन बनाए । उनले २१ बलमा ४ चौका र एक छक्का हाने । उनीसँगै आर्यन दत्त अविजित रहे । आर्यनले १७ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे । सफिब जुल्फिकरले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालबाट करणले २, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १–१ विकेट लिएका थिए । पहिलो ओभरको पाँचौं बलमा विक्रमजित सिंहलाई दीपेन्द्रबाट क्याचआउट गराएर ललितले विकेट लिन सुरुआत गरेका थिए ।
अघिल्लो खेल खेलेका अनिल शाह, बसिर अहमद र किरण ठगुन्नाको स्थानमा बिहीबार भीमसहित शेख दाजुभाइ आरिफ र आसिफले टोलीमा स्थान बनाएका थिए ।
ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर खेल गुमाएको नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो । डच टिमले बुधबार स्कटल्यान्डविरुद्धको खेल १७ रनले जितेको थियो । स्कटल्यान्डले आफ्नो पहिलो खेल नेदरल्यान्ड्समाथि ३९ रनको जित पाएको थियो । नेपालले अब शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।