सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रने ।

चितवन/पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रनुपर्ने बताएका छन् । भरतपुरमा आइतबार आयोजित अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै उनले ‘युटुब च्यानल दर्ता छैन भन्ने नाममा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नमिल्ने बताए । सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयक मिडिया मैत्री नभएकोले सो विधेयक नेपाल पत्रकार महासंघलाई स्वीकार्य नभएको बरिष्ठ उपाध्यक्ष आचार्यले बताए। आचार्यले स्वरोजगारमूलक मिडियाहरु समस्यामा रहेको भन्दै उनिहरुको स्थायित्वका लागि राज्यका सबै निकायले ध्यान दिनुपर्ने मा जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष सुचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले अनलाइन मिडिया र युट्युबलाई व्यवस्थित गर्न सबै निकायहरुसंग छलफल गरी सुझाबहरु संकलन गरिरहेको जानकारी दिए।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सुचनाले आफ्नो विचारलाई सत्य निष्पक्ष बनाउँदै समाज परिवर्तन गर्नतर्फ अगाडि बढाउन भूमिका खेल्ने भन्दै सत्य,तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको दायीत्व रहने बताए । पत्रकार र सञ्चार माध्यमले सधैं सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारीले मिडिया आचारसंहिता र काउन्सिलको भूमिका बारे जानकारीमूलक प्रतुती प्रस्तुत गरेका थिए। सो अवसरमा पत्रकारहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाको समन्वयमा भएको कार्यक्रममा शाखा अध्यक्ष बसन्त पराजुलीले जिल्लामा पहिलोपटक मन्त्रालयको उपस्थितिमा अनलाइन मिडिया र युटुवका बारेमा छलफल र अन्तरक्रिया गरिएको भन्दै धन्यबाद ज्ञापन गरेका थिए।