चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय
चितवन/चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसलाई वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको छ । कन्सल्टेन्सीले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कंडेल, सागर भट्टराई र शान्ति कंडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका हुन् ।
वैदेशिक रोजगारीमा बेलायत लैजान्छु भनि ब्रेस्ट ब्रेन एजुकेशनका सञ्चालक राजेन्द्र सापकोटा लगायतका व्यक्तिले ठगी गरेको पीडित अञ्जु कंडेलले बताइन् । ‘एक वर्ष अगाडि म र श्रीमान सागर भट्टराई विदेश जाने भन्दै पटक–पटक गरेर ४६ लाख बुझाएका थियौँ । युके नपठाएपछि पैसा फिर्ता माग्दा हामीलाई उल्टै धम्काउने काम भएको छ’ पीडित कंडेलले भनिन्, ‘अहिले उहाँ (राजेन्द्र सापकोटा) फरार हुनुहुन्छ उल्टै आफ्ना मान्छे लगाएर धम्काउने काम गर्नुभएको छ ।’
बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिकामा समेत उजुरी दिँदा समेत न्याय पाउन नसकेको उनले गुनासो गरिन् । अहिले कमला सापकोटा, अर्जुन सापकोटा लगायतका व्यक्तिले धम्काउने गरेको उनले आरोप समेत लगाइन् । उनीहरु विरुद्ध पनि अहिले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा उजुरी दिएको उनले बताइन् । यस्तै शान्ति कंडेलले आफ्नो बैंक खाता प्रयोग गरेर उनीहरुले २५ लाख ५० हजार रुपैयाँ ठगी गरेको बताइन् ।
‘राजेन्द्र सापकोटाले वैदेशिक रोजगारीका लागि जान तयारी गरेका वर्षा वि.क. र यमुना घर्तिमगरलाई मेरो खाता नम्बर दिएर १७ लाख रुपैयाँ हाल्न भनिएको रहेछ । आइपिएसबाट पैसा आएकाले मलाई कस्ले पैसा पठायो थाहा भएन । पछि म विरुद्ध प्रहरीमा उजुरी परेपछि थाहा भयो,’ उनले भनिन् ‘मेरो नाउमा वैदेशिक रोजगार विभागमा मुद्दा हाली पक्राउ पुर्जी काटेर मलाई थुनामा हालेपछि हर्जनासहित २५ लाख ५० हजार रुपैयाँ तिरेर म निस्के । अहिलेसम्म त्यो रकम पाउन सकेकी छैन ।’ अहिले विद्युतीय कारोवार ऐन अन्तरगत पीडक पक्षले आफुहरु माथि मुद्दा चलाएको उनले बताइन् ।