घुसखोरीको केन्द्र यातायात कार्यलय भरतपुरमा अख्तियारको छापा !

कार्यलय प्रमुख भट्टराई सहित दर्जन बढि कर्मचारी नियन्त्रणमा , दुई परे पक्राउ। !

चितवन/ भ्रस्टाचार, घुसखोरी र अनियमितताको केन्द्रबिन्दु चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको टोलीले आकास्मिक छापा मारेको छ। आज शुक्रबार दिउँसो दुबै गेट र कर्मचारीहरुलाई कतै भाग्ने उम्कने मौका नै नदिई किरिझ्याप पारेको हो।
छापा मार्ने क्रममा अख्तियारको टोलीले चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढाप घर भई भरतपुर महानगरपालिका-११ कैलाश टोल बस्ने कार्यालय सहयोगी बर्ष ४९ का इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ घर भई हाल भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ । सो क्रममा कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको अख्तियार श्रोतले जानकारी दिएको छ। अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारीहरुसङ्ग सोधपुछ गर्नुका साथै उनीहरु सहित ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको छ।
सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५-२५ हजार देखि ५०- ६० हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने बिश्वासिलो सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षासँग रकम असुल गरी फेल
भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको साथै कार्यलयमा व्यापक रुपमा बेथिति र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा थप अनुसन्धान गरि कार्बाही गरिएको जनाएको छ।