नेपाल लाओसको हातबाट स्तब्ध
काठमाडौँ/नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार लाओसको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । राजधानी भिएनटानको लाओ स्टेडियममा भएको खेलमा पाहुना टिम नेपालको प्रदर्शन बिर्सनलायक रह्यो ।
लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा पिटर फाङथाभोङले दोस्रो गोल थपे ।
नेपालका लागि ले ७३ औं मिनेटमा मनीष डाँगीले पेनाल्टीबाट १ गोल फर्काए, तर त्यो हार टार्न पर्याप्त रहेन् । यसअघि दुई देशबीचको छ खेलमा नेपाल अपराजित रहेको थियो, तर नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रसले त्यो क्रमलाई कायम राख्न सकेनन् ।
नेपालले तेस्रो चरणको छनोटको समूह ‘एफ’मा खराब सुरुआत पनि लिएको छ र लगातार दोस्रो हार बेहोरेको छ । नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग पनि हारेको थियो । नेपाल दुई खेलबाट शून्य अंकसहित चार टिम सम्मिलित समूहको पुछारमा झरेको छ ।