Breaking News

राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ/नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

“संसारकै उच्च हिमालय शृङ्खलालाई नजिकबाट अवलोकन गरेर सजीव चित्रमा उतारिएको छ,” उहाँले भन्नुभयो, “सुन्दर तस्बिरले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छ । खासगरी राससका पत्रकारहरुले असाध्यै उच्च भेगमा पुगेर त्यहाँको चित्र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।”

अध्यक्ष डा भट्टराईले तस्बिर प्रदर्शनीले नेपालीहरु स्वयम्लाई नेपाल बुझ्न र घुम्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यावरण विनाशको विश्वव्यापी चर्चा छ । हिमाललाई तेस्रो पोलर पनि भनिन्छ । हालै सरकारले सगरमाथा संवाद पनि आयोजना गरेको छ, यसलाई अझै अगाडि बढाउन तस्बिर प्रदर्शनीबाट मद्दत पुग्छ ।”

अहिले नेपालमा सबैथोक भए पनि यसलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको प्रयोगले जीवन उपयोगी वस्तु तथा सेवामा परिणत गर्न नसक्दा युवामा निराशा उत्पन्न भएको अध्यक्ष डा भट्टराईले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा के छैन रु सबैथोक छ । तर यसलाई आधुनिक प्रविधिमैत्री बनाउन नसक्दा युवामा एककिसिमको निराशा देखिन्छ । दृढ इच्छाशक्ति र सोच बन्यो भने नेपाल बनाउन सकिन्छ भन्ने सन्देश युवापुस्तालाई जान्छ ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालका अमूल्य निधि हिमाल तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।रासस