पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि
काठमाडौँ /रुबेन नेभेसले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि पोर्चुगलले आइतबार स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि जितेको छ । म्युनिकमा भएको फाइनल २–२ को बराबरी टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा पोर्चुगल ५–३ ले विजयी रह्यो ।
पोर्चुगलले नेसनस लिगको उपाधि जितेको यो दोस्रो पल्ट हो । निर्धारित समयको प्रतिस्पर्धामा पोर्चुगल दुई पल्ट पछाडि परेर पनि खेलमा फर्केको हो । स्पेनले मार्टिन जुबिमेन्डीको गोलले सुरुमा अग्रता लिएको थियो । लगतै नुनो मेन्डिसले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको ठीक अगाडि मिकेल आयारजबलले गोल गरे र स्पेन फेरि अगाडि रह्यो । तर क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । निर्धारित खेल सकिन अगाडि नै चोटका कारण रोनाल्डो मैदान छाड्न भने बाध्य रहे ।