एमाले चितवनको प्रतिनिधि परिषद् बैठक : हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
चितवन/नेकपा (एमाले) चितवन ११ औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न भएको छ ।
आज भरतपुरमा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरे । बैठकलाई संवोधन गर्दै महासचिव पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिए ।
पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन उनले प्रतिनिधि परिषद्का सदस्यहरुलाई आग्रह गरे । पार्टी र नेतृत्वप्रति घेराबन्दी भइरहेको बताउँदै उनले एकताबद्ध भएर त्यसको प्रतिवादमा लाग्नुपर्ने बताए ।
उनले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताए । वामपन्थी जनमत एमालेमा भएको कारण एमालेमाथि आक्रमण भइरहेको महासचिव पोखरेलले बताएका छन् । जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमालेमाथि आक्रमण गरिहेको महासचिव पोखरेलले बताए ।
नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्ने र जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी रहेको महासचिव पोखरेलको भनाइ छ ।
सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको उनले बताएका छन् ।
बजेटका बारेमा बोल्दै महासचिव पोखरेलले बजेट लोकप्रिय भन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताए । उनले देशमा विकासको मुल फुटाउने पार्टी एमाले भएको बताएका छन् ।
बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।