भरतपुरको बाटुली पोखरीः सिंचाईको लागि बनाईएको घोल, पर्यटकीय स्थल बन्यो

सरोज उपरकोटी/चितवन/बजारको कोलहालबाट छुट्टी लिएर प्रकृतिमा रमाउन चाहनेहरूको लागि भरतपुरबाट छोटो दूरीमा रहेको बाटुली पोखरी एक आकर्षक गन्तव्य बनेको छ । सिँचाइका लागि निर्माण गरिएको घोल पोखरीको रूपमा विस्तार भए पछि चराचुरुंगीहरूको बासस्थानका रूपमा विकसित भएको हो । मुख्य गरी चराचुरुङ्गी, गोही र सरिश्रीप प्राणीहरूको बासस्थानको लागि चर्चित बाटुली पोखरीमा पुग्दा यी पंक्षी र प्राणीहरुलाई प्रत्यक्ष देख्न सकिन्छ ।

यहाँ पुग्दा तालको छेउमा गोही सुतिरहेको, मयुर नाचिरहेको र घुँगीफोर गरुड चराहरू सुकेको रुखका हाँगाहरुमा टाँसिएर बसिरहेको त प्राय संधै नै देखिन्छ तर कहिले कहिले गैंडा, मृग, चित्तल र बाघहरूले पानी पिइरहेको पनि देख्न सकिन्छ । ताल निर्माणको बखत तालको बीच बीचमा ठडिएका सुकेका रुखहरुले मानिसहरूलाई तत्कालीन समयमा चिन्ता थपेको थियो तर पछि यीनै सुकेका रुखहरु बाटुली पोखरीको लागि आकर्षणको केन्द्रबिन्दु बनेको स्थानीय बताउँछन् । कारण हो चराहरूको गुँड, चराहरुले यिनै सुकेका रुखका हाँगाहरूको कापामा गुँड लगाउने र बचेरा कोरल्ने गरेका छन् ।

चराले बच्चा कोरल्ने सिजनमा रूखका प्रत्येक कापाहरूमा गुँड देख्न सकिन्छ । त्यो दृश्यले पोखरीलाई झन् मनमोहक देखाउँदछ । अझ रोचक कुरा त यस पोखरीमा साइबेरियन पाहुना चराहरू आउनु पनि हो । विशेषगरी मङ्सिर १५ देखि फागुन १५ सम्म अर्थात् जाडो मौसममा साईबेरियन चराहरु बसोबासको लागि यहाँ आउने गर्दछन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, उज्वलनगरमा अवस्थित बाटुलीपोखरी सिमसार क्षेत्र तथा आगन्तुक चरा अवलोकनका लागि प्रसिद्ध छ । यो सुन्दर पोखरी बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा अवस्थित छ ।

बाटुलीपोखरी पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट १३ किलोमिटर र सौराहबाट ८ किलोमिटरको दुरीमा अवस्थित यो २० हेक्टर जमिनमा फैलिएको छ । बाटुलीपोखरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने विश्व रामसार क्षेत्रमा सूचीकृत २० हजारी ताल सँग जोडिएको छ । डुङ्गा सयर यस पोखरीको अर्को आकर्षण बनेको छ । ४ वटा डुंगा रहेको बाटुली पोखरीमा १०० रूपैया तिरेर पोखरीको अवलोकन गर्दै डुंगा सयर गर्न सकिन्छ । हाल पोखरीको डिलमा पदमार्गको पनि विकास गरिएको छ ।

सो पद्मार्गले पोखरीको अवलोकन थप सहज भएको सामुदायिक वनका अध्यक्ष कृष्ण प्रसाईले बताए । हाल दैनिक १०० भन्दा बढी र सार्वजनिक विदाको दिनमा हजारभन्दा बढी पर्यटक यहाँ आउने गरेको अध्यक्ष प्रसाईं बताउँछन् । बाटुली पोखरीमा फोटोग्राफी उत्साहीहरूलाई दृश्यहरू र रमणीय हंस डुङ्गाहरूको आश्चर्यजनक तस्बिरहरू खिच्ने अवसर पनि प्रदान हुन्छ ।

यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने, बाटुली पोखरी तपाईंको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, चराचुरुंगीहरूको चिरबिर र शान्त वातावरणले तपाईंलाई मोहित पार्नेछ । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने बाटुली पोखरीले आगन्तुकहरूलाई शान्त वातावरणमा डुब्न स्वागत गर्दछ ।