चितवनको मनकामना अस्पतालले लुट मच्चाएपछि रोकियो स्वास्थ्य बीमा,यसरी ठग्यो बिरामी।

भरतपुर/चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारका लागि आउने बिरामीलाई ठगी गरेको भेटिएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको छ । अस्पतालले बीमा मार्फत आउने बिरामी (बिमित) र बोर्ड दुबैबाट दोहोरो शुल्क असुलेको पाइएको हो ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अस्पतालमा उपचार गर्न आउने विमितहरुको गुनासो र उजुरीका आधारमा अस्पतालको पटक–पटक अनुगमन गरिएको थियो । सो क्रममा अस्पतालले बिमामा पर्ने औषधिको समेत पैसा लिने गरेको भेटिएको थियो । अस्पतालले गरेको भुक्तानी दाबी झुटो रहेको पाइएपछि बोर्डले तीन महिनाका लागि कार्यक्रम बन्द गरेको मल्लले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले अस्पतालबाट बिमितको क्षतिपूर्ति समेत असुल गर्नेगरी बोर्डबाट निर्णय भएको बताउनुभयो । ‘स्वास्थ्य बीमा कार्यक्रम पाँच बर्षका लागि अस्पतालसंग सम्झौता हुन्छ,उहाँले भन्नुभयो,सम्झौता बिपरितका काम भए कार्यक्रमनै खारेज गर्नेसम्मका प्रक्रिया हुन्छ ।’ यस बिषयमा अस्पताल प्रशासनसंग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । चितवनमा एक दर्जन स्वास्थ्य संस्थामा बीमा कार्यक्रम लागू छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा आवद्ध हुने प्रत्यक परिवारले पाँच जनासम्मको वार्षिक तीन हजार पाँच सय र सोमाथि परिवार सदस्य रहेमा प्रत्येकको थप सात सय रुपैयाँ लाग्छ । बीमा सेवा लिने व्यक्ति आफैँले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ। नारायणी अनलाईनबाट साभार।