मदन आश्रित स्मृति दिवस : दुर्घटनास्थल दासढुंगा पुगेर नेताहरुले सम्झिए मदन भण्डारी
चितवन/३२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज भरतपुरको दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ ।
नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन भरतपुर चितवनको समन्वयमा भरतपुरको दासढुंगास्थित मदन आश्रित स्मृति पार्कमा सभा आयोजना गरिएको हो । मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमयी तरिकाले जिप दुर्घटना हुँदा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्दान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।
आजको स्मृति सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितसँग आफूले बिताएका पलहरुका बारेमा सुनाए । मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको बताउँदै पाण्डेले भने ‘उहाँको एउटा महत्वपूर्ण कुरा भिन्न कोणबाट कसैले कुरा ग¥यो भने त्यो कुरालाई तुरुन्तै ड्राफ्ट गर्नुहुन्थ्यो । यो तपाईंले भनेको कुरा मिल्दैन नि कमरेड ? भनेर कसैले भन्यो भने या त उहाँले त्यसलाई कन्भिन्स गर्नुहुन्थ्यो, कि तपाईंले भनेको कुरा ठीक हो ल हिँड्नुस् भन्नुहुन्थ्यो ।’
जीवराज आश्रितलाई स्मरण गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘जतिसुकै कठिनाई भए पनि आफ्नो दुःख नदेखाउने नेता हुनुहुन्थ्यो उहाँ ।’
एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले नेपालको राजनीतिको सफल सिद्दान्त ‘जनताको बहुदलीय जनवाद’ भएको बताउँदै तीन दशकको अभ्यासबाट यसको प्रमाणित भइसकेको बताए ।
मदन भण्डारीको विचार र सिद्दान्त अनुसारको व्यवहार हुनुपर्ने बताउँदै उनले आजको आवश्यकता सच्चा कम्युनिष्ट भएर देश र जनताका लागि समर्पित हुनु रहेको बताए ।
सभामा उपाध्यक्ष पाण्डे र संगठन विभाग प्रमुख अधिकारीसहित नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले संवोधन गरेका थिए ।
देशको परिवर्तनको बाहक मदन भण्डारीलाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले बताए ।