Breaking News

रत्ननगरमा पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु

नारायणगढ,(चितवन)/चितवनको रत्ननगरमा ४५ दिने पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । सीप विकासमार्फत युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजनाम तथा रत्ननगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा मङ्गलबारदेखि तालिम सुरु गरिएकोे कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा पाँच महिला र २१ पुरुष सहभागी छन् । दुई जना प्रशिक्षकले ४५ दिनसम्म प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्रशिक्षण दिनेछन् ।

सहभागीलाई तालिम पूरा अवधिभर बसेर सीप सिक्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तालिम लिने भनेपछि पूरा समय बस्नुपर्छ, बीचमा छोडेर जानेलाई प्रमाणपत्र दिने छैनौँ ।” तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउने र उद्योगी उत्पादन गर्ने रहेको भन्दै भन्दै प्रमुख पौडेलले एक जनाले एउटै प्रकारको तालिम लिएमा मात्र दक्ष बनिने बताउनुभयो । उहाँले उद्यमशीलतामार्फत जीविकोपार्जन सहज बनाउन स्वीकृत वार्षिक बजेटबाट दिन लागिएको सीप विकास तालिम फलदायक हुने विश्वास व्यक्त गर्नुभयो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले तालिम लिएर घरमा मात्र सीमित हुन नहुने धारणा राख्दै सीप सिकिसकेपछि उद्योगी तथा व्यवसायी बन्नुपर्ने बताउनुभयो । रत्ननगरमा व्यवसाय गर्न पालिकाले सहयोग गर्दै आएको जनाउँदै तालिमपछि दक्ष जनशक्तिले यही व्यवसाय गर्न चाहेको अवस्थामा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो र बिनाब्याज रु तीन लाखसम्म कर्जा उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले तालिमले व्यवसायीको सीप विकास गर्न सहयोग पुग्ने बताउनुभयो । स्वदेशमा स्वरोजगारको वातावरण सृजना गरी युवालाई आत्मनिर्भर बनाउन यस प्रकारका तालिम उपयोगी हुने उहाँको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादन गर्न, सानो लगानीबाट व्यवसायी बन्न यस सिकाइले ऊर्जावान बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घले व्यवसायीको हित र विकाससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । हालको अवस्थामा पुरुष सैलुनप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उहाँले युवालाई विदेश पलायन हुनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भनाइ राख्नुभयो । रासस

sahid diwas