Breaking News

गणतन्त्रको बिकल्प जनगणतन्त्र

सुर्य बराल
नेपाली जनताले लामो सङ्घर्ष गरेर हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दुईदशक पनि भएको छैन् । गणतन्त्र आएसँगै जनता एकहदसम्म अधिकार सम्पन्न भएका छन् । देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।
तर देशमा राजनितिक नेतृत्वको असक्षमता एवं अराजनितीक चलखेललाई सफलता मान्ने पुराना दलहरुको दृष्टिदोषसहितको प्रवृतीगत संक्रमण फैलनु देश र जनताप्रतिको जिम्वेवारीमा अष्पस्टता र प्रशासन एवं कर्मचारीतन्त्र भित्रको लुटतन्त्र, घुसतन्त्र र जनताप्रतिको गैंरजवाफदेहिताको कारण मुलुकमा अपेक्षकृत सुधार, विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुननसक्दा जनतामा आम असन्तुष्टि चुलिदै जान थालेको छ ।
राजनितीक दलहरुको शैली, प्रशासन, न्यायालय, सुरक्षा अङ्गलगायत राज्यका संस्थाहरू भ्रष्ट, घुसखोर, कामचोर, असक्षम र कमजोर भएकाले पनि जनताले चाहेको जस्तो सुशासनको प्रत्याभूति हुन सकिरहेको छैन । जस्ले गर्दा आज ब्यबस्था र प्रणलीप्रति नै आम बितिष्णा बढेर गएको छ । यधपी जनता अझै दलहरु सुध्रिने आशामा छन् ।
जनताको यहि सेन्टिमेन्टलाई क्यास गर्न केही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपमा फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने राजतन्त्रका पक्षपातीहरु सल्बलाएका छन् ।
नेपालमा २०५८ सालमा जब बिरेन्द्रको बंश नाश भयो त्यहीँबाट राजतन्त्रको औंपचारिक अन्त्य भैसकेको छ । पछी स्वघोषित राजा ज्ञानेन्दलाई समेत २०६२।०६३ को आन्दोलन मार्फत दलहरुले बिस्थापित गरिसकेका छन् । अब पनि राजतन्त्र भनेर लाग्नु भनेको अत्यन्तै पछौंटे चेतना हो ।
लोकतन्त्रमा दल र विचारहरू धेरै र फरक हुन्छन् । समाजलाई अगाडि लैजाने की यथास्थितिमा राख्ने वा पछाडि फर्काउने भन्ने प्रवृत्तिको जहिले पनि घमसान बैचारिक लडाई भइरहन्छ। कहिलेकाँही ति लडाईहरु संगठन मार्फत सदन र सडकसम्म छताछुल्ल हुने गर्दछ । तर ब्यबस्था, संबिधान र प्रणालीबिरुद्ध लोकतन्त्रको नाममा सडकमै अराजक्ता मच्चाउन कदाचित कसैलाई छुट दिनुहुन्न । यस्ताखालका समस्याको समाधान पनि लोकतान्त्रिक विधिमार्फत खोज्नुपर्छ ।
अहिले जसरी पूर्वराजालाई राजगध्धीमा फर्काउने भन्दै जुन लेभलको अराजक्ता भैरहेको छ त्यो कदाचित उचित होईन् । यदि पुर्बराजाको भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानमा उनलाई कुनै स्थान छैन । किनकि सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्तालाई संविधानको असंशोधनीय प्रावधान भनेर राखिएको छ । यस्तो अवस्थामा यो सम्भव नहुने विषय हो। असंबैधानिक कार्य यसै संसदबाट हुनेछैन् ।
राजतन्त्रमा एउटा व्यक्ति र परिवारमा सर्वाधिकार रहन्छ । यो सिधैँ वर्तमान संविधानसँग बाझिन्छ । जनताको बलिदान र सङ्घर्षमार्फत संविधानसभाबाट जारी भएको संविधानलाई उल्ट्याउने धृष्टता भैरहेको अवस्थामा के आम गणतन्त्रवादीहरु हातमा दै जमाएर  बस्लान ? यो पक्कै हुदैँन ।
यदि राजावादीहरुले आन्दोलन मार्फत त्यो अवस्था ल्याउन लालायीत हुन भने बिभिन्न समूहमा बिभाजित गणतन्त्रवादीहरु गणतान्त्रिक ब्यबस्थाको निरन्तरताको निम्ती एक भै आवश्यक परेमा सडक संघर्षमा उत्रनुपर्दछ ।
लोकतन्त्रमा कमजोरीहरु हुन्छन्, त्यसलाई लोकतन्त्र भित्रैबाट सच्याउनुपर्छ । लोकतन्त्रको विकल्पमा उन्नत लोकतन्त्र खोज्ने हो । यसलाई अझ सहभागितामूलक, पारदर्शी र सुशासनयुक्त बनाउनुपर्छ । त्यसमा सबै दलबिच सहमति र समन्वयमार्फत छलफल हुनुपर्छ ।
लोकतन्त्रलाई नै अन्त्य गरेर अलोकतान्त्रिक वंशाणुगत कुनै प्रणाली ल्याउने भन्नु अबको समयमा देश र जनताको लागी हितकारी हुँदैन । यसले गम्भीर समस्या सिर्जना गर्छ । किनकी विश्वका महाशक्ति राष्ट्र् तथा विभिन्न शक्ति केन्द्रहरुले अहिले हाकाहाकी आफ्नो प्रभूत्व विस्तारका निम्ति अर्को देशको स्वाधीनता र सार्वभौमिकतामाथि सिधैँ हमला गरिरहेका छन् । यस्तो युगमा हाम्रो जस्तो जटिल भूराजनीति भएको मुलुकमा लोकतन्त्रलाई खलबल्याउने, अस्थिरता ल्याउने काम गरिएमा देश र जनताका लागि घात हुनेछ, कसैबाट पनि त्यो गल्ती नहोस् । यसप्रति सबै गम्भीर बनौँ ।
बर्तमान काँग्रेस एमाले सरकारको नालायकीपनको कारण पनि राजतन्त्रवादीहरु बढी हौसिएको देखिन्छ । सरकारले जनतालाई यथाशीघ्र प्रभावकारी सेवा दिने, सुशासन कायम गर्ने र समृद्धि हासिल गर्न ब्यापक सुधार गर्नु आवश्यक छ ।
या त यो सरकारको बिकल्पमा सर्बदलीय सहमतिको सरकार बनाई लोकतन्त्रभित्रै रहेर मुलुकको हित कार्यन्वयन गर्नुपर्दछ । गणतान्त्रिक लोकतन्त्रलाई नै उल्ट्याउने ढङ्गबाट शङ्कास्पद र रहस्यमय कार्य जो भैरहेका छन्, त्यसले कुनै पनि समाधान दिनेछैन् । र तिनलाई संधै यसरी छुट दिनुहुन्न ।
देश बनाउने हो भने सबैले देश हितलाई केन्द्रमा राखी आफ्ना गतिबिधीहरु गर्नुपर्दछ । अब हिजै नेपाली जनताले मसानघाटमा सेलाइसकेको राजतन्त्रको अवषेश बोकेर हुँदैन् ।
लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । बरु आगामी निर्वाचनमा चुनावमा भाग लिएर कार्यकारी राष्ट्र्पति बन्ने योजनामा लागे बेश हुन्छ । अब जहानिया शासन कदापी स्विकार्य हुदैन् ।
अत् : लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । राजतन्त्र फर्काउने चेष्टा गरियो भने मुलुकमा पुनंः रक्तश्रावको खतरा उत्पन्न हुन्छ, त्यो मार्गमा अब कोही नजाउ । गणतन्त्रको बिकल्प जनगणतन्त्र हुनसक्छ तर कदाचित राजतन्त्र हुँदैन । सबैलाई चेतना भया । अस्तु

sahid diwas