Breaking News

भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु !

चितवन/सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।
भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।
‘सुत्केरी पोषण झोला’ कार्यविधि पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडीनयुक्त नुन, दुधबर्दक चुर्ण र मालिस तेल रहेका छन् ।
पोषण कार्यक्रमले महानगरद्धारा सञ्चालित बर्थिङ सेन्टर र सरकारी स्वास्थ्य अस्पतालमा बच्चा जन्माउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम संञ्चालन गरिएको बताउनुभयो ।
गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

महानगरद्धारा सञ्चालित ५ वटा बर्थिङ सन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको उहाँले बताउनुभयो ।
यी बर्थिङ सेन्टरबाट वार्षिक २ सय जना आमाले बच्चा जन्माउने गरेका छन् ।
सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
बच्चा जन्माएर घर फर्कने क्रममा बच्चालाई न्यानो झोलासहित पोषण झोला समेत प्रदान गरिने शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । यो कार्यक्रम अब नियमित रुपमा संञ्चालन हुने छ । कार्यबिधि अनुसार बच्चा जन्मिएको ४५ दिन भित्र जन्मदर्ता गराई बर्थिङ सेन्टरमा निवेदन दिनु पर्नेछ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ललितमान तामाङ, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी मन्तव्य राख्नु भएको थियो ।

sahid diwas