भूकम्पको एकदशकः सम्झना ताजा
काठमाडौँ/आज वैशाख १२ गते, २०७२ साल वैशाख १२ गते आजकै दिन नेपाली इतिहासमा कहिल्यै नबिर्सने गरी ताजा छाप गढेर बसेको छ । बिहान ११ः५६ बजेको समय थियो, एक्कासी जमिन हल्लियो, आकाश कालो भएर मडारिरहेको थियो । एकछिन के भयो भनेर सोच्न नि नपाउँदै भूकम्प हो भन्ने निक्र्योल भयो । सबै भागाभाग गर्न थाले । आज पनि धेरैलाई ताजै छ, त्यो दिन र त्यसपछिका परकम्पनहरु ।
विनाशकारी भूकम्प गएको आज १० वर्ष पुगेको छ । गोरखाको केन्द्रबिन्दु भएर सात दशमलव आठ रेक्टरस्केलको भूकम्पले हजारौँ नेपालीको जीवनलाई तहसनहस बनायो । भूकम्पले गोरखालाई मात्रै होइन, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रामेछाप, दोलखालगायत जिल्ला सबैभन्दा बढी प्रभावित भएका थिए । गोरखा भूकम्पपछि पनि पटकपटक परकम्प र भूकम्पका धक्काहरु गइरहेका छन् ।
वैशाख १२ गतेको भूकम्पपछि निरन्तर परकम्पहरू गइरहेका थिए । जेठ ४ गते गएको अर्को ठूलो सात दशमलव तीन रेक्टर स्केलको परकम्पले मानिसमा त्रास झन् बढाएको थियो । भूकम्प प्रभावितहरु पल टागेर खुला आकाशमुनि पानी, खानालगायत अत्यावश्यक आवश्यकताबिना बसिरहेका थिए । परकम्पको त्रासले जनजीवन लामो समयसम्म सामान्य अवस्थामा फर्किन सकेन ।
नेपाल सरकार, नेपाली सेना, प्रहरी, स्वयंसेवक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, जनप्रतिनिधि, युवालगायतको मद्दतमा उद्धार र राहत कार्य सुरु भयो, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो, अस्थायी शिविरहरू स्थापना गरिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएर पुनर्निर्माण अगाडि बढाइएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी रामबहादुर केसीले जानकारी दिनुभयो ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी आठ हजार ९७९ जनाको मृत्यु, २२ हजार ३०९ जना घाइते र ३१ जिल्लाका करिब ८० लाख जनसङ्ख्या प्रभावित भएका थिए । करिब रु सात खर्ब छ अर्ब बराबरको आर्थिक क्षति भएकोमा तत्कालीन समयमा पुनर्निर्माणको लागि करिब रु छ खर्ब ६९ अर्ब लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार आठ लाख ६६ हजार २०७ निजी घर, छ हजार २७८ सरकारी भवन, सात ९२३ विद्यालयका ४९ हजार ६९० कक्षाकोठा, एक हजार १६४ स्वास्थ्य संस्था र ९२० सांस्कृतिक सम्पदा पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको थियो ।
विशेषगरी माटोको जोडाइ भएको ईट्टाबाट बनेका पुराना घर तथा ढुङ्गाबाट बनेका घरहरू भूकम्प प्रतिरोधात्मक संरचना नभएको कारणले ध्वस्त हुँदा ज्यान गएको थियो । विसं १९९० मा आएको बिहार–नेपाल भूकम्पमा भारत र नेपालमा गरेर १७ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाईको पछिल्लो तथ्याङ्क अनुसार सर्वेक्षण भएका १० लाख ३७ हजार २९१ घरधुरीबाट पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्न योग्य आठ लाख ६६ हजार २०७ लाभग्राहीमध्ये आठ लाख ३४ हजार २६७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । हालसम्म पुनर्निर्माण सम्पन्न निजी आवासको सङ्ख्या सात लाख ४२ हजार ९२३ रहेको जनाउँदै केसीले प्रवलीकरणका कुल लाभग्राही ४७ हजार ८२७ कायम भएकामा अनुदान सम्झौता भएका लाभग्राही ३३ हजार ९०५ मध्येबाट हालसम्म प्रवलीकरण सम्पन्न लाभग्राहीको सङ्ख्या तीन हजार ९२ रहेको बताउनुभयो ।
प्राधिकरणका अनुसार सात हजार ६७७ सामुदायिक विद्यालय र तीन हजार ४५९ शौचालय पुनर्निर्माण भएको छ । छ सय ३२ सम्पदा, ९२५ स्वास्थ्य संस्था, ४०८ सरकारी भवन, सुरक्षा निकायका २१६ संरचना पुनर्निर्माण भएका छन् । असुरक्षित स्थानमा रहेका चार हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासको लागि जग्गा उपलब्ध गराइएको छ भने ७२ वटा जोखिमपूर्ण बस्तीका बासिन्दाको उपयुक्त स्थानमा स्थानान्तरणसम्बन्धी कार्य सम्पन्न भयो । एक सय छ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएकामा ९७ वटा सम्पन्न भइसकेका छन् । करिब ७६२ किलोमिटर सडक र एक हजारभन्दा बढी खानेपानी योजना निर्माण गरिएका छन् । साथै, एक लाखभन्दा बढी दक्ष निर्माणकर्मी उत्पादन भएका छन् । कम्तिमा पाँच लाखले रोजगारी प्राप्त गर्नुका साथै करिब १० लाख जनशक्ति पुनर्निर्माणको काममा संलग्न छन् ।
सूचना अधिकारी केसीका अनुसार गोरखा भूकम्पमा २४१ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था एवं समुदायमा आधारित संस्थाहरुले १८ हजार ९१४ निजी आवास, एक हजार ३०८ विद्यालय, ८० स्वास्थ्य संस्था, दुई हजार २०० नमूना घर, १५ वटा सम्पदा क्षेत्र, ३ वटा एकीकृत बस्ती, २३ वटा साना सिँचाइ आयोजना र ५५ वटा साना खानेपानी आयोजना पुर्ननिर्माण भएका छन् ।
म्यानमार भूकम्प: नेपालको सहयोग
गत चैत २७ गते परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीको नेतृत्वमा १६ सदस्यीय टोली नेपाल सरकारका तर्फबाट भूकम्प प्रभावित म्यान्मार राहत सामग्री लिएर गएको थियो । म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर गत अप्रिल २८ मा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे सात दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्प प्रभावितलाई राहतस्वरुप करिब २७ टन अत्यावश्यक सामग्रीसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारण तथा सञ्चारकर्मी चैत २७ गते नेपाल वायु सेवा निगमको चार्टड विमानमार्फत उक्त टोली त्यसतर्फ गएको हो । लामो समय आन्तरिक द्वन्द्वबाट गुज्रिएको दक्षिण पूर्वी एसियाली मुलुक म्यान्मारलाई भूकम्पले थप बिच्छिप्त बनाएको ने पिटाव अन्तरराष्ट्रिय विमानस्थालमा पुगेपछि सहजै अनुभव गर्न सकिन्थ्यो । विमानस्थालमा राहत सामग्री हस्तान्तरण गर्न आउनुभएका म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनको अनुहारमा नेपालको सहयोगप्रति कृतज्ञता र मुलुकको अवस्थाप्रति चिन्ता दुवै देख्न सकिन्थ्यो ।
परराष्ट्र मन्त्रालयका सहसचिव अधिकारीसहितको उच्चपदस्थ अधिकारी, म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे, म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरेपछि विमानस्थालमा रहेको विशिष्ट कक्षमा लुविनले त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी दिइरहँदा नेपालमा २०७२ को भूकम्पको अवस्था आँखा अगाडि आएको थियो । उक्त भवनका भित्ता भूकम्पले चर्किएका थिए । भूकम्पको धक्काले भत्किएका भग्नावशेषहरू विस्तारै पन्छाउँदै सडक, बस्ती सफा र सुन्दर बनाइँदै थियो ।
सहसचिव अधिकारीले नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यान्मार सरकारले गरेको सहयोग स्मरणसमेत गर्नुभएको थियो । भूकम्पले ठूलो क्षति गरेको अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री हस्तन्तरण गर्दै उहाँँले भन्नुभयो, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।”
त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि लुविनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिँदै उक्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिनुभयो । म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली भाषी म्यानमारमा रहेका उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपाली भाषीको मृत्यु भएको जानकारी दिनुभयो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरूको खोजी भइरहेको छ, घाइतेहरूको उपचार जारी छ”, उहाँले भन्नुभयो । म्यान्मारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपाली भाषीहरूले आश्रय लिएर बसेका थिए ।
राजधानी ने पिटाव सहरका ठाउँठाउँमा पाल हालेर बसेका देखिन्थ्ये । ती टेन्टका वरपर फोहर वा कुनै किसिमको प्रदूषण थिएन । मानिसहरू फेरि भूकम्प जान्छ कि भन्ने त्रासमा बसिरहेका देखिन्थ्ये । सहरको मध्यभागमा रहेको पाँच तलाको अस्पताल भाँसिएर एकै ठाउँमा खुम्चिएको दृश्यले सबैलाई दुखित तुल्यायो । कति बिरामी, कुरावा थिए होलान रु, चिकित्सक, नर्सलगायत अस्पतालका कर्मचारीहरूको अवस्था के होला रु भूकम्पका कारण मन्डलेको ऐतिहासिक मन्डले दरबारको केही भाग क्षतिग्रस्त हुनुका साथै सागाइङ टाउनसिपमा रहेको एउटा पुल पूर्णरूपमा ध्वस्त भएको थियो । नजिकैका क्याउक्से, प्यिन ओओ ल्विन र श्वेबोमा पनि भूकम्पबाट क्षति पुगेको त्यहाँका सरकारी अधिकारीले बताए ।
यसैबीच, भूकम्पपछि राजधानी पिटावको रूपरेखा पुनः भूकम्प प्रतिरोधी रूपमा निर्माण गरिने सैन्य अधिकारीले बताएका छन् । वरिष्ठ जनरल मिन आङ हलाइङले भूकम्पमा भत्किएका भवनहरू नरम जमिनमा बनेकाले बढी क्षति भएको बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त भवनहरू भूकम्प प्रतिरोध गर्नसक्ने गरी निर्माण गरिने बताउनुभयो । ने पिटावस्थित राष्ट्रिय सङ्ग्रहालयका शिलालेख र हस्तलिखित कागजात सार्न थालिएको छ भने दशौँ हजार पुस्तक, साहित्य तथा कम्प्युटर सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको छ ।
समाचार संस्था बिबिसीका अनुसार राजधानी ने पिटाव क्षेत्रका ७० प्रतिशत सरकारी भवन भूकम्पबाट क्षतिग्रस्त भएका छन् भने केही कार्यालयलाई याङ्गोन सारिएको छ । ने पिटाव सहर सन् २००५ मा मात्र अस्तित्वमा आएको हो, जुन बेला म्यानमार ९अघिको नाम बर्मा० का सैन्य शासकले यसलाई निर्माण गरेका थिए । म्यान्मार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच हजार बढी घाइते र १४८ बेपत्ता रहेका त्यहाँस्थित नेपाली दूतावासको कार्यालयले जनाउको छ ।
नेपालले म्यानमारबाट सिक्नुपर्ने पक्ष
नेपालमा आएको २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले क्षतिग्रस्त संचनना पुनःनिर्माण दोस्रो चरणको काम हो । उद्धार र राहत सँगसँगै हामीले वातावरण प्रदूषण रोक्ने पक्षमा सबै सचेत र इमान्दार हुनु जरुरी छ । भूकम्प र द्वन्द्वको मारमा फसेको म्यान्मारका नागरिकमा वातावरण स्वच्छतासँगै भूकम्पसम्बन्धी चेतनास्तर उच्च रहेको त्यहाँको वस्तुस्थितिले देखाएको छ ।
हामीले पनि स्कूलतहदेखि भूकम्प, यसका असर, बच्ने उपाय, भूकम्प गएका समयमा अवलम्बन गर्नुपर्ने उपाय र सुरक्षित स्थानमा बसिरहँदा अपनाउनुपर्ने स्वास्थ्य र सरसफाइका बारेमा शिक्षा दिनुपर्ने आवश्यकता छ । साथै, समुदायस्तरमा चेतनामूलक शिविर सञ्चालन गरी भूकम्प, यसको असर, बच्ने उपाय, भूकम्प गएका समयमा अवलम्बन गर्नुपर्ने सावधानी र सुरक्षित स्थानमा बसिरहँदा अपनाउनुपर्ने स्वास्थ्य र सरसफाइ, पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधी संरचनाका बारेमा शिक्षा दिन विभिन्न सङ्घसंस्था, स्थानीय निकायलगायत सरोकार भएका निकायले पहल गर्नु जरुरी छ । रासस