एमाले भरतपुरको अध्यक्षमा पुनः शंकर थपलिया
चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शंकरराज थपलिया चयन भएका छन् ।
शनिबार राति सम्पन्न दोस्रो महानगर अधिबेशनले सर्वसम्मतबाट थपलियाको नेतृत्वमा ९५ सदस्यीय महानगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवहरुमा गिता श्रेष्ठ, दयाराम चौधरी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी लेखा कमिटी अध्यक्षमा होमकुमार शर्मा आचार्य चयन भएका छन् ।
बन्दसत्रका लागि बनेको ७ सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मतबाट महानगर कमिटी चयन गरेको हो । अध्यक्ष मण्डलको अध्यक्षमा एमाले प्रदेश कमिटी सदस्य एवम् एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने र अध्यक्ष मण्डलको सदस्यहरुमा प्रदेश कमिटी सदस्यहरु कृष्ण प्रसाद भुर्तेल, अन्जान कुमार तिमिल्सना, दिव्या शर्मा आचार्य, जिल्ला उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला सचिव प्रकाश ढुंगाना र जिल्ला सहसचिव मिन बहादुर परियार रहेका थिए ।
अधिवेशनलाई शुक्रबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएका थिए । सहमति हुनै नसकेमात्र चुनाव गराउन उनको निर्देशन थियो ।
नव निर्वाचित महानगर कमिटीलाई एमाले पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले शनिबार नै शपथ ग्रहण गराएका छन् ।