एमाले भरतपुर महानगर कमिटीको अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन
चितवन/बैशाख/नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न निर्देशन दिए ।
उनले मिशन ८४ लाई सफल पार्ने गरी पार्टीका गतिविधि गर्न र पार्टी संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । उनले अहिलेको सरकारले देशमा विकासको लहर ल्याउने भयो भनेर विरोधी शक्तिहरुले एमालेमाथि प्रहार गरिरहेको बताए ।
आजबाट विपि कोइराला क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको महानगर अधिवेशन भोलिसम्म चल्ने छ । भोलिबाट बन्दसत्र सुरु हुने पार्टीले जनाएको छ ।
बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलको अध्यक्षमा एमाले प्रदेश कमिटी सदस्य एवम् एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने र अध्यक्ष मण्डलको सदस्यहरुमा प्रदेश कमिटी सदस्यहरु कृष्ण प्रसाद भुर्तेल, अन्जान कुमार तिमिल्सना, दिव्या शर्मा आचार्य, जिल्ला उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला सचिव प्रकाश ढुंगाना र जिल्ला सहसचिव मिन बहादुर परियार रहेका छन् ।