साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

चितवन/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

“साइक्लिङ प्रदूषणरहित यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । गाडीको विकल्पका रुपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ छ ।

मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो । त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ ।”

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता छ । उनीहरुले चार दशमलव पाँच किलोमिटर दूरी साइक्लिङ गर्नेछन् । छ वटा विधामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रू ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिने छ । इलिट मेन, वमेन, मास्टर मेन, जुनियर मेन, स्पेसल चितवन मेन र वमेन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ । रासस