बढ्यो विदेशी लगानी प्रतिबद्धता, कुन महिनामा कति

काठमाडौ/चालु आर्थिक वर्षको फागुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।अघिल्लो माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घटेर ३४ करोड ५० लाख रुपियाँमा झरेको थियो ।

फागुन महिनामा आएर भने लगानी प्रतिबद्धतामा ह्वात्तै बढेको हो । विभागका अनुसार आठ महिनामा कुल विदेशी लगानी प्रतिबद्धता २१३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपियाँ आएको छ ।

चालु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि घट्दै गएर फागुनमा आएर पुनः बढेको हो । वैदेशिक लगानीको प्रतिबद्धतासँगै मुलुकमा भित्रिने रकममा समेत वृद्धि भएको राष्ट्र बैकको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । गोरखापत्रमा खबर छ ।