भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ:प्रधानमन्त्री प्रचण्ड

चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् ।नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् ।

उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् । उनले भने, ‘ देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ । ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । प्रधानमन्त्रीले भने, ‘कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई आधार बनाएर अगाडि बढिरहेको छ । प्रशस्त पूर्वाधार रहेका छन् । यस महानगरपालिकामा पर्यापर्यटन, खेल , धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमश अगाडि बढ्दै छ । समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु छन । प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले गरिएको भ्रमण वर्ष ऐतिहासिक कदम हो ।’

प्रधानमन्त्रीले भ्रमण वर्षको उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको विचार राखे । उनले भने, उद्घाटन शत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ । २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्नु र सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ । सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ । ’ उनले आफूले सुशासनको क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रहरुमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी गरे ।’