बेवास्तामा वाल्मीकि आश्रम!

कावासोती/माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठमन्दिरमा दीपावली गरी उत्सवका रूपमा मनाइएको छ तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम भने यतिबेला ओझेलमा परेको छ । वाल्मीकि ऋषिले तपस्या गरेको, लवकुशको जन्म भएको, सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको हो ।

रामनवमीमा विशेष चहलपहल हुने वाल्मीकि आश्रममा रहेका पुरातात्त्विक सामग्री सुरक्षित नहुँदा कतै वाल्मीकि आश्रम नै हराउने हो कि भन्ने चिन्तामा स्थानीय रहेका छन् । मन्दिरको १५ वर्षदेखि रेखदेख गर्दै आउनुभएका शेखर सुवेदीले धार्मिक र पर्यटकीय क्षेत्रको ठुलो सम्भावना बोकेको स्थल भए पनि प्रचारप्रसारको अभावका कारण यो क्षेत्र ओझेलमा परेको बताउनुभयो । संरक्षणको अभावमा सीता कुवामा पातपतिङ्गर झरेका छन् । चौरासी हजार ऋषिमुनिले यज्ञ गरेको मण्डप, प्राचीन प्रस्तरका गेट, चुला, सिलौटा, ढुङ्गे घडा निरन्तर खिइँदै र टुक्रिँदै गएका छन् । आश्रम चितवनको माडी नगरपालिकाको वडा नं। १ मा रहेको भए पनि यहाँका स्थानीय वाल्मीकि आश्रम जानका लागि भारतको बाटो भएर जानुपर्ने हुँदा पनि आश्रम ओझेलमा परेको उहाँको भनाइ छ ।

भारतीय भूमि प्रयोग गरेर जानुपर्ने बाध्यता अन्त्य गर्न भन्दै नवलपुरको विनयीत्रिवेणीको गजेन्द्रमोक्ष धामबाट निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण सम्पन्न भए पनि निकुञ्जको अवरोधका कारण सञ्चालन हुन सकेको छैन । जसले गर्दा आश्रममा जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पुरातात्त्विक वस्तु यत्रतत्र छरिएर रहँदासमेत तीनै तहको सरकारको ध्यान नगएको मन्दिरका पुजारी सुवेदी बताउनुहुन्छ ।

वाल्मीकि आश्रममा ८८ हजार ऋषिमुनिले हवन गरेको कुण्ड, लवकुशले घोडा बाँधेको खम्बा रहेको स्थान, विष्णुचक्र, सीता भासिएको र सीताको सिलौटा र लोहोरो रहेको स्थान हो । लवकुश जन्मेको स्थान, अमृत कुवा, वाल्मीकिको समाधि जस्ता रामायणमा उल्लेखित प्राचीन महत्वका वस्तु रहेका छन् । राम भगवान्ले सीता मातालाई वनबासका लागि महर्षि वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोरा लवकुशको जन्म भएको र सीता माता पातालमा भासिएको स्थल जीर्ण अवस्थामा छ ।

नेपालबाट सिधै वाल्मीकि आश्रम आउने व्यवस्था भए यहाँ भक्तजन आउने र चहलपहल बढ्ने त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका एनिस राईले बताउनुभयो । बिजुली, मोबाइल नेटवर्क, खानेपानी र सडक सञ्जाल नहुँदा आश्रम परिसरमा साना साना पसल चलाएर जीविका चलाउनेहरू समस्यामा परेका छन् । झोलुङ्गे पुलपारिको करिब एक हजार सात सय मिटर लामो पदमार्ग बनाउन सहरी विकास मन्त्रालयबाट २० लाख रुपियाँ विनियोजन भएकाले पदमार्गको काम छिट्टै सुरु हुने विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । नेपालदेखि भारतका विभिन्न स्थानबाट आश्रम अवलोकनका लागि भक्तजन आउने गरेका छन् । आश्रम हेर्न जाने पर्यटकका लागि खानेपानीको व्यवस्था, शौचालय, प्रतीक्षालयलगायतका सामान्य सुविधा पनि बनाइएको छैन । नवलपुरको कावासोतीबाट आश्रममा पुग्नुभएका दीपक भट्टराईले पुरातात्त्विक दृष्टिकोणले महत्वपूर्ण रहेका सामग्रीको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।