नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् स् प्रधानमन्त्री

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आयोजित विशेष समारोहमा उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।” नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।” संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ भन्दै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने बताउनुभयो ।

आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।” चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन् भन्नुभयो ।

आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उहाँले स्मरण गर्नुभयो । नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध छ भन्नुभयो । रासस