चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवन/चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लास्टिक जन्य फूलमाला र गुच्छाको बिक्रीबितरणमा रोक लगाएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।

नगर प्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने बताए । उनले नगर भित्र नै किसानले धेरै मात्रामा फूल लगाएको हुनाले उक्त फूल पूजा पाठको लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरेका छन् । उनले भने, ‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन् । किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । नगरपालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा गरेको छु ।’

प्लास्टिकजन्य फूल र मालाले बातावरण प्रतिकूल हुने भएकोले बिक्री वितरण नगर्न भनिएको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।