नेपालगन्जमा चक्रे मिनललाई एके ४७ को सुरक्षा

चक्र भनिने चर्चित डन मिलन गुरुङ चक्रे (मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार (एके-४७) को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन् ।

उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। बेलाबखत नेपाल प्रहरीको निगरानीमा रहने गरेका चक्रे मिलनले एके- ४७ को सुरक्षा घेरामा रहेर शान्तिसुरक्षालाई चुनौती दिएका हुन् ।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन सोमबार महाधिवेशन स्थलमा नदेखिएको संघका एक नेताले जानकारी दिए ।

उनी युवा संघको महाधिवेशनमा प्रतिनिधि पनि नभएको जनाइएको छ । नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएपछि चक्रे मिलन यसरी खुला रूपमा हतियारसहितको सुरक्षामा देखिएका हुन् ।

काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएका चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।