रास्वपा गुमनाम !

काठमाडौं/आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम बनेको छ । पार्टी दर्ताको पाँच महिनामै संसद्को चौथो दलका रूपमा उदाएको रास्वपा सरकार छाडेसँगै गुमनाम बनेको हो ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा दल दर्ता गराएसँगै सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना एजेन्डालाई आक्रमक रूपमा जनतामाझ पु¥याई जनताका केही अपेक्षा पूरा गर्ने सपना बोकेर संसद् छिरेको उक्त दल सरकारमा सहभागी हुँदासम्म चर्चामै थियो । तर, केही समययता गुमनाम भएको भन्दै उक्त दलको राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेका शुभेच्छुक तथा सहयोगीहरू नै अहिले रास्वपा के गरेर बसिरहेको छ ?भन्ने प्रश्न गर्न थालेका छन् ।

उक्त दल दर्ता भएको पाँच महिनामै निर्वाचन भएको र सो निर्वाचनबाट प्रतिनिधिसभामा २० सिट हासिल गरी चौथो दलका रूपमा स्थापित भएको थियो । तर, सात दलीय गठबन्धनको सरकारमा सहभागी भएको करिब डेढ महिनामै सरकार छाड्नुपरेसँगै उसका राजानीतिक गतिविधिहरू शून्य प्रायः देखिएको छ ।

सभापति लामिछानेको नागरिकता विवादका बावजुद चितवन–२ बाट चुनाव जितेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्रीसमेतको जिम्मेवारीसहित सरकारमा सहभागी भएका थिए ।

लामिछानेविरुद्ध गैरनेपाली नागरिक भएको तथ्यसहित परेको रिटमा सर्वोच्च अदालतले माघ १३ मा उनको नागरिकता खारेज भएको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पदसमेत खारेज भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।