अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा विमानस्थल, जहाज निरन्तर भारततर्फ नै डाइभर्ट

काठमाडौं/गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।

त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा पनि उहाँले अब विदेशबाट आएका जहाज सिधै पोखरा विमानस्थलमा अवतरण गर्नसक्ने बताउनुभएको थियो । तर वैकल्पिक विमानस्थलका रूपमा देशभित्रै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहे पनि काठमाडौँमा अवतरण हुन नसकेका विमान भने भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ ‘डाइभर्ट’ हुँदै आएका छन् ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमानहरू भारतको पटना र लखनउमा अवतरण हुने गरेका भए पनि हाल देशमा तीनवटा विमानस्थल तयारी अवस्थामा रहँदासमेत महानिर्देशक अधिकारीले भनेजस्तो समाधान नभई समस्या ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

आफ्नै दुईवटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत विमानहरू किन भारत पठाइन्छ भन्ने चासोबीच आइतबार पनि भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तरा एयरलाइन्स र इन्डिगो एयरको जहाज दिल्ली नै फर्किए ।

खराब मौसमका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य क्षमता ९भिजिबिलिटी० १२ नट्ससम्म पुग्यो । नेपाली आकाशमा प्रवेश गरिसकेका जहाजले काठमाडौँमा अवतरण ९मिस्ड एप्रोच० गर्न नसक्ने भएपछि भिस्तरा र इन्डिगो लखनउ गए भने नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज घण्टौँ मकवानपुर र सिमराको आकासमा फन्को लगाएर काठमाडौँमा अवतरण भए । मौसमको खराबीले आन्तरिकतर्फ पोखराका उडानसमेत दिउँसो २ बजेपछि प्रभावित बनेका थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा वर्षा, चट्याङ, हावाको अनियमित गति र भिजिबिलिटी कम हुँदा उडान प्रभावित भए पनि उक्त समयमा भैरहवामा भने कुनै समस्या थिएन । तर कुनै पनि जहाज त्यहाँ अवतरण नभई लखनउ गए ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार आइतबार भैरहवामा अवतरण हुनसक्ने जहाज कोलकाता डाइभर्ट हुनुमा हवाई कम्पनीहरूले भैरहवा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा नलिनु नै प्रमुख कारण रहेको देखिन्छ ।

उहाँले भन्नुभयो, “जहाजले उडान भर्नुअघि नै वैकल्पिक विमानस्थल खुलाउने प्रावधानअनुसार कहाँ अवतरण गर्ने भनेर पहिले नै प्रष्ट भइसक्नुपर्छ । तर जजिरा र हिमालय एयरलाइन्सबाहेका हवाई कम्पनीले भैरहवा विमानस्थल प्रयोग गर्न पूर्वस्वीकृति नलिएकाले भारततर्फ डाइभर्ट हुने अवस्था विद्यमान छ ।”

अब भने भैरहवा वा पोखरा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग विदेशी हवाई कम्पनीलाई सर्त नै अघि सार्नुपर्ने उहाँको धारणा छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने नियमअनुसार हवाई कम्पनीलाई वैकल्पिक विमानस्थलका रूपमा यहीँ नै अवतरण गर्नुपर्छ भन्ने बाध्य गराउन नपाइने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “पाइलटले जहाज जहाँ लैजान्छु भन्छ त्यहीँ जान पाउने हुँदा हामीले यहीँ नै जाऊ भन्न मिल्दैन । उनीहरूलाई जहाँ सहज हुन्छ त्यहीँ नै जाने हो ।” नेपालभन्दा भारतमा हवाई इन्धनको मूल्य दोब्बरभन्दा बढी सस्तो पर्ने, पोखरामा ठूलो जहाज अवतरण नसक्ने समस्या र भारतबाट उडान अनुमतिमा सहजताका कारण पाइलटले जहाज डाइभर्ट गर्दा भारत नै रोज्ने गरेको उहाँको भनाइ छ । गोरखापत्रबाट ।