‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

दाङ/दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएको समेत भएको जनाइएको छ ।

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ती मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ बर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले एकलाख रुपैँया धरौटी तोकेको थियो । तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

अपराधिक लाभ मुद्दा चलाईएका घोराही १० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनैजनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

‘व्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिदै ती पुरुषसंग उनीहरुले रु पाँच करोड माग गरेका थिए । उनीहरुले पटक–पटक गरि रु ३० लाख लगिसकेको खुलेको छ । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुइवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ । त्यस्तै पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको भन्दै मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छोडिएको छ