राजस्व छल्नेविरुद्ध साढे ७८ करोडको मुद्दा !

काठमाडौं/राजस्व अनुसन्धान विभागले विभिन्न हथकण्डा अपनाएर राजस्व छल्नेविरुद्ध झन्डै ७८ करोड रुपैयाँबराबरको मुद्दा दायर गरेको छ ।

एक कम्पनीले कर तिर्ने बेला भएपछि अर्को कम्पनी खोल्दै कारोबार गर्ने रुपन्देहीस्थित सुमित एन्ड स्वेता ट्रेडर्सका सञ्चालक पुनित बानियाँ र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा संलग्न ललितपुरस्थित त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धीबहादुर महर्जनविरुद्ध विभागले कर छलि र जरिमानासहित कुल ७८ करोड ४२ लाख ८६ हजार ९ सय ५० रुपैयाँ उठाउन उच्च अदालत तुलसीपुर बुटवल इजलास र उच्च अदालत पाटल ललितपुरमा मुद्दा दायर गरेको हो ।

राजस्व छलिविरुद्ध आक्रामक रूपमा अघि बढेको विभागले अनुगमन क्रममा विभिन्न बहाना बनाएर एवं अनेक तरीका अपनाएर राजस्व छल्ने फन्दामा पारेको जनाएको छ । विभागका अनुसार सुमित एन्ड श्वेता ट्रेडर्सका सञ्चालक बानियाँले ३३ करोड कर छली गरेका थिए । यतिधेरै राजस्व छलीमा संलग्न बानियाँ रुपन्देही जिल्लाका बासिन्दा हुन् । उनले सुरुमा सुमित एन्ड स्वेता ट्रेडर्सको नाममा कारोबार गर्ने गरेका थिए ।

तर, यो कम्पनीको कुनै कारोबार विवरण आन्तरिक राजस्व विभागमा नबुझाई नयाँ कम्पनीबाट कारोबार सुरु गरेको विभागको दाबी छ । यसरी सरकारलाई झुक्याएर राजस्व छल्दै आएका बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको करयोग्य आयमा लाग्ने कर रकम दाखिला नै गरेका थिएनन् ।

सोही आधारमा विभागले बानियाँलई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ (संसोधनसहित) को दफा ३ को उपदफा ४ बमोजिम राजस्व चुहावटको कसुर गरेको आरोप लगाएको जनाएको छ । यस्तो कार्यमा संलग्न बानियाँले कुल ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ कर छली गरेको र जरिमानासमेत गरी उनीसँग कुल ६६ करोड बिगोदावी माग गरेको विभागले जनाएको छ। यो खबर राजधानी दैनिकमा खबर छ ।