लागुऔषधसहित लोथरबाट दुई जना पक्राउ

चितवन/लागुऔषधसहित पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मंसिर ७ गते विशेष सूचनाको आधारमा मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ५४८ एमपुल, फेनारगन ५५० एमपुल र नोफिन ५५० एमपुल फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

लागुऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।