गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मी/गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप गएराति कुढडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३० वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको मृत्यु भएको हो। ४ जनाको घटनास्थलमै र घाइते सोमैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अरु ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो ।