चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान

चितवन/चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणनास्थललाई सुरक्षित बनाउन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए । सो ठाउँमा शुक्रबार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए ।

क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए । उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए ।