श्रीमान् र श्रीमतीको झगडामा दुई वर्षीया छोरीको हत्या

ओखलढुङ्गा/ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको मृत्यु भएको छ । ३५ वर्षीय राजेन्द्र राईले सोमवार राति छोरी ऋतिकाको हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रक्सी खाएका राजेन्द्र र श्रीमतीबीच विवाद भएको थियो । विवादकै क्रममा उनले नजिकै रहेको खुकुरी झिकेर श्रीमतीको टाउकोमा प्रहार गरेका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । त्यसपछि श्रीमती छोरी च्यापेर भाग्न खोज्दा श्रीमानले लछारपछार पारेपछि उहाँ छोरी छोडेर भाग्नुभएको थियो । पछि स्थानीयवासी र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले अभियुक्त राईलाई पक्राउ गर्न झन्डै दुई घण्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राईलाई पक्राउ गर्न कठिन भएको थियो । उनी आफैँले आफैँलाई समेत टाउकोमा खुकुरीले काटेर घाइते भएका छन् । उनको पनि ओखलढुङ्गा सामुदायिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।