जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङमा एक जना घाइते

ताप्लेजुङ/जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका छन् ।

तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप उपचार सुरु गरिएको बताइएको छ ।

शनिवार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो सङ्कलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो ।