‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

काठमाडौं/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरूले ४ मंसिरको निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् ।

बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।

तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै २६ देखि ३० कात्तिकसम्म विरोध प्रर्दशन र कोणसभालगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए ।