मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल

निर्वाचन/आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो ।

आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो । आयोगले तयार गरेको निर्देशिकाबमोजिम निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि छ वटा समिति हुनेछन् । स्थानीय निर्वाचनमा भने तीन तहको समिति मात्रै रहेको थियो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “शिक्षालाई व्यावहारिक र परिणाममुखी बनाउन यस प्रकारको व्यवस्था गरिएको छ ।”

मतपत्रको ढाँचाले बदर मत घटबढ हुनाले आयोगले आगामी निर्वाचनमा चार प्रकारको मतपत्र डिजाइन गरेको छ । एक जना मतदाताले चार जना प्रतिनिधि चयन गर्दा चारवटा पानामा स्वस्तिक चिह्न लगाउनेछन् । स्थानीय निर्वाचनमा भने एउटै पानामा सात पदका लागि छ प्रकारको मतपत्र थियो । एउटै पानामा ७० भन्दा बढी निर्वाचन चिह्न थियो ।

सहायक प्रवक्ता अर्यालले आगामी निर्वाचनमा मतपत्रको डिजाइनले बदर मत घटाउने विश्वास व्यक्त गरे । प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ एउटा पानामा बढीमा ३१ र घटीमा मात्र दुईवटा निर्वाचन चिह्न रहनेछन् । समानुपातिकतर्फ भने बढीमा ५५ र घटीमा २७ वटा निर्वाचन चिह्नसहितको मतपत्र रहनेछ । सबै मतपत्रमा ठाडोतर्फ बढीमा १० र तेस्रोमा पाँचवटा लहर राखिएको छ । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।