सातवटै प्रदेशमा एकल बहुमत कठिन

काठमाण्डौं/आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।

२०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो । हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन् । विभाजित दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा (एमाले) कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो ।

गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा (एमाले) २०५ स्थानीय तहको प्रमुख पदमा सीमित हुन पुग्यो । कांग्रेसले ३२९ स्थानीय तहको प्रमुख पद जिते पनि एकल बहुमत आउने गरी उसले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।