प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी

काठमाण्डौ/प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो ।

देउवाको नागरिकतामा जन्ममिति २००३ जेठ ३१ गते रहेको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ । उजुरीमाथि भोलि मङ्गलवारसम्ममा निर्णय लिइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो चुनावमा नेपाली कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका मल्लले गएको पालिका चुनावमा गठबन्धन गर्न नमान्दा पार्टीबाट कारबाहीमा पर्नुभएको थियो ।