सिटामोल र जीवनजलको मूल्य बढाउने तयारी

काठमाडौं/स्वास्थ्य मन्त्रालयले डेंगीका कारण बजारमा सिटामोल अभाव भएको भन्दै मूल्य बढाउने तयारी थालेको छ । यही विषयमा निर्णय गर्न आइतबार मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बोलाइएको छ । समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव औषधि व्यवस्था विभागका महानिर्देशक छन् ।
स्रोतका अनुसार व्यापारीहरूको दबाबमा प्रतिट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोललाई ३ देखि ६ रुपैयाँसम्म र जीवनजल १० रुपैयाँबाट बढाएर २५ रुपैयाँ पुर्‍याउने तयारी छ । व्यापारीको चाहना र मन्त्रालयको तयारीबमोजिम मूल्य बढे उपभोक्ताले एक फाइल सिटामोल खरिद गर्न ५० रुपैयाँभन्दा बढी तिर्नुपर्छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सिटामोल अभावबारे छलफल गर्न बैठक बोलाइए पनि मूल्य बढाउने कुरा हल्ला मात्र भएको दाबी गरे । ‘तत्काल कुनै पनि औषधिको मूल्य बढ्दैन,’ उनले भने । सामान्यतः दुखाइ कम गर्न तथा ज्वरो घटाउन सिटामोल आधारभूत औषधि हो । औषधि व्यवस्था विभागले यसलाई अत्यावश्यकमा सूचीकृत गर्दै आएको छ । सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्नुपर्ने औषधिको सूचीमा सिटामोल दोस्रो नम्बरमा छ ।

अहिले बजारमा डेंगी संक्रमणका कारण सिटामोलको चरम अभाव छ । यसले बिरामी मर्कामा छन् । सिटामोलको सट्टा दुखाइ कम गर्नेजस्ता वैकल्पिक औषधि सेवन गर्न बिरामी बाध्य छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।